Logo

बैंकिङ

ज्योति पाण्डेलाई सीआईबीले नियन्त्रणमा लिएपछि बैंकर्स संघको आकस्मिक बैठक



काठमाडौं। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)ले आकस्मिक बैंठक बोलाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नियन्त्रणमा लिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न संघले भोलि बिहीबार आकस्मिक बैठक बोलाएको हो।

संघको आफ्नै कार्यालयमा बस्ने उक्त बैठकमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहने छ।

सीआईबीले पाण्डेलाई स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रक्रियामा करिब ४० करोड रुपैयाँ बराबरको भाडा र विद्युत महसुल नतिरी ठगी तथा आपराधिक विश्वासघात गरेको अभियोगमा पक्राउ गरेको हो।

बैंकर्स संघले यो पक्राउलाई बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)ले दिएको अधिकार प्रयोग गर्दा भएको अनावश्यक फौजदारीकरणको रूपमा लिएको छ।

सरकार र नियामकको ध्यानाकर्षण गराउने तयारी भोलि बस्ने फुल हाउस बैठकले विशेष गरी नेपाल सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउने मुख्य एजेन्डा तय गरिएको संघका एक सदस्यले बताए।

बैठकमा हालैको गिरफ्तारीले बैंकिङ क्षेत्रमा पैदा गरेको मनोवैज्ञानिक त्रास र यसले वित्तीय प्रणालीमा पार्ने दीर्घकालीन असरबारे गहन छलफल हुने बताइएको छ।

व्यावसायिक जोखिम र विशुद्ध बैंकिङ प्रक्रियालाई फौजदारीकरण गर्दा बैंकका अधिकारी निर्णय लिन डराउने अवस्था आउने भन्दै संघले यसको कानुनी र संस्थागत प्रतिरक्षाका लागि दबाब दिने योजना बनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार २२:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।