Logo

उद्योग

सरसफाइ कमी भएका दुई उद्योगलाई जरिवानासहित चेतावनी



चितवन। भरतपुर महानगरपालिकाले बजार अनुगमनका क्रममा एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गर्दै सञ्चालनमा रोक लगाएको छ।

महानगरको अनुगमन टोलीले वडा नं. ३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योग मा अनुगमन गर्दा तेल अव्यवस्थित रूपमा भण्डारण गरिएको, एउटै सामग्रीमा दुई–तीन पटकसम्म लेबलिङ गरिएको, सरसफाइमा कमी देखिएको तथा खाद्य र अखाद्य वस्तु एउटै स्थानमा राखिएको पाइएको थियो। त्यसपछि उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको वडा अध्यक्ष विकास थापाले जानकारी दिए।

महानगरले उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी निकायमा दर्ता गर्न, खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै राख्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। पुनःअनुगमन गर्दा सञ्चालन योग्य पाइएपछि मात्र उद्योग सञ्चालन गर्न दिइने गरी हाललाई बन्द गरिएको महानगरले जनाएको छ।

यसैबीच, महानगरले बुधबार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत रामनगर क्षेत्रमा रहेका होटलहरूको पनि अनुगमन गरेको छ। त्यस्तै, नारायणगढको पुतली बजार क्षेत्रमा रहेका २० भन्दा बढी किराना पसलको अनुगमन गर्दा अधिकांश व्यवसाय दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको थियो।

वडा नं. २ का अध्यक्ष मनोज रानाभाटका अनुसार केही व्यवसाय २१ वर्षदेखि नवीकरण नगरी सञ्चालन हुँदै आएका भेटिएका छन्। महानगरले व्यवसायीलाई तत्काल दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार १९:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।