Logo

प्रमुख समाचार

उद्योगी र बैंकर पक्राउविरूद्ध बोल्यो महासंघ, ‘फौजदारी शैलीको धरपकडले लगानीको वातावरण बिग्रियो’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी र बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको बताएको हो ।

अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा धरपकड गर्दा लगानीकर्ता र व्यावसायिक जगतमा नकारात्मक सन्देश गएको महासंघको ठहर छ ।

विशेषगरी बैंकिङ क्षेत्रका उच्च पदस्थ अधिकारी (सीईओ) को पक्राउले बैंकहरूको साखमा आँच पुग्ने र कर्जा प्रवाहमा समेत संकुचन आउन सक्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

महासंघले प्रारम्भिक अनुसन्धान नै नगरी व्यवसायीहरूलाई पक्राउ गर्ने र ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिले व्यक्तिको मान–प्रतिष्ठामा अपूरणीय क्षति पुग्ने उल्लेख गरेको छ ।

‘उद्योगी व्यवसायीमाथि देवानी दायित्व सिर्जना हुने मुद्दाको छानबिन र अभियोजन सोही अनुरूप हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानलाई गोप्य राखेर तथ्यका आधारमा मात्र कारबाही अगाडि बढाउन हामी आग्रह गर्दछौं ।’

नेपालको संविधानले प्रत्याभूत गरेको ‘कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने’ व्यवस्थाको स्मरण गराउँदै महासंघले सरकारलाई निजी क्षेत्रप्रति संवेदनशील हुन आग्रह गरेको छ ।

विगत चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्र हालै बनेको दुई तिहाइको सरकारले लिने नीति र व्यवहारपछि चलायमान हुने अपेक्षा निजी क्षेत्रले राखेको महासंघले जनाएको छ ।

यद्यपि, हाल भइरहेका गतिविधिले व्यावसायिक आत्मविश्वास घटाउने र लगानीकर्ताहरू असुरक्षित महसुस गर्ने स्थिति पैदा भएको महासंघको बुझाइ छ ।

महासंघले लगानीको वातावरण सुरक्षित बनाउन र व्यवसायीहरूको मनोबल उच्च राख्ने वातावरण निर्माण गर्न सरकारसँग विशेष अपिल समेत गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार १९:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।