Logo

विविध

विद्युत् लाइन काटेर पाँच करोड बक्यौता असुली, साढे चार हजार ग्राहकको लाइन काटियो



नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत नेपालगन्ज वितरण केन्द्रले विद्युत् महसुल बक्यौता असुल गर्न लाइन काट्ने अभियान तीव्र बनाएको छ ।

वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्र का अनुसार पछिल्ला पाँच महिनामा महसुल नतिर्ने करिब ५ हजार ५०० ग्राहकको लाइन काटिएको छ ।

उनले लाइन काटिएकामध्ये करिब ४ हजार ५०० ग्राहकले बक्यौता रकम भुक्तानी गरेर पुनः विद्युत् जडान गराएको बताए ।

यसक्रममा केन्द्रले करिब ५ करोड रुपैयाँ बक्यौता असुल गरेको जनाएको छ ।

केन्द्रका अनुसार लाइन काटिएका ग्राहकबाट कुल करिब ६ करोड ३० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको थियो ।

लामो समयसम्म महसुल नतिर्ने ग्राहकविरुद्ध अभियान निरन्तर सञ्चालन गरिने वितरण केन्द्रले जनाएको छ ।

प्रमुख मिश्रले विद्युत् आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई समेत तीव्र बनाइएको बताए ।

उनका अनुसार विद्युत् प्रयोग गरेबापतको महसुल ६० दिनभित्र बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

तोकिएको अवधिमा बिल नतिर्ने ग्राहकविरुद्ध स्वचालित रूपमा कारबाही हुने उनले बताए ।

वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणका लागि मिटर अनुगमन, हुकिङ तथा मिटरमा गडबडी गर्ने ग्राहकमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गरिरहेको जनाएको छ ।

प्राधिकरणका अनुसार नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेको छ ।

गर्मीयाममा पनि विद्युत् आपूर्ति नियमित बनाउन नो–लाइट शाखामार्फत विभिन्न क्षेत्रमा नांगो तार हटाएर केबल विस्तारको काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार ०७:३५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।