Logo

विविध

पृथ्वी राजमार्गका ऐतिहासिक सम्पदा पुनर्निर्माण गरिँदै, २ करोड बजेट



तनहुँ। पृथ्वी राजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाको पुनर्निर्माण भइरहेको छ।

सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवा पुनर्निर्माणलाई तीव्रता दिइएको हो।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिइएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

एसियाली विकास बैंक (एडिबी)को करिब ६ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडक खण्डको निर्माण पूरा भइसकेको छ।

‘सडक विस्तारका क्रममा विस्थापित धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो।

विनियोजित बजेटबाट अधिकांश मठमन्दिर र पाटीपौवाको पुनर्निर्माण धमाधम भइरहेको छ’, उनले भने, ‘व्यास नगरपालिका–१२ घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि समेत विशेष तयारी भइरहेको छ।’

भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको तीन करोड रुपैयाँको बृहत् गुरुयोजनाअनुसार पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसंग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सडक कालोपत्रे, लेन मार्किङ र अन्य प्राविधिक काम सकिएसँगै अब सडक किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको हो।

आयोजनाले भौतिक विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणलाई स्थानीय समितिको सहकार्यमा निर्माणकार्य धमाधम भइरहेको छ। २०७७ माघमा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजना नेपालको लाइफ लाइन मानिने राजमार्गको नमुना विस्तारका रूपमा हेरिएको छ।–रासस

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार ०८:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।