Logo

अन्तर्राष्ट्रिय

चीनले २०० बोइङ जेट किन्ने सहमति भएकाे ट्रम्पको घाेषणा



काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन २०० वटा बोइङ जेट विमान खरिद गर्न तयार भएको घोषणा गरेका छन्। एक दशकपछि चीनले पहिलोपटक अमेरिकामा निर्मित व्यावसायिक जेट किन्न लागेको हाे।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तापछि फक्स न्यूजसँग बोल्दै ट्रम्पले भने, “चीन आज २०० वटा जेटको अर्डर दिन गइरहेको छ।” तर यस सम्झौताको विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन ।

ह्वाइट हाउसले पनि यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन।  यो समाचार सार्वजनिक भएपछि बोइङको सेयरमा करिब चार प्रतिशतको गिरावट आएको छ।

ट्रम्पले ‘सिंगल–आइजल ७३७ म्याक्स’, ‘ट्विन–आइजल ७७७ एक्स’ वा ‘७८७ जेट’ मध्ये कुन मोडलको कुरा गरेका हुन् भन्ने अझै स्पष्ट भएको छैन । बोइङका प्रमुख कार्यकारी अधिकृत केली अर्टबर्ग र जीई एरोस्पेसका प्रमुख कार्यकारी ल्यारी कल्प ट्रम्पसँगको चीन भ्रमण टोलीमा सहभागी थिए।

उद्योग जगतका विश्लेषकहरूले यस भ्रमणका क्रममा कम्तीमा ५०० वटा जेटको सम्झौता हुने अपेक्षा गरेका थिए । सन् २०१७ मा ट्रम्पकै पहिलो चीन भ्रमणका क्रममा बेइजिङले ३०० वटा बोइङ विमान किन्न सहमति जनाएको थियो । यस पृष्ठभूमिमा २०० वटाको सहमतिलाई कमजोर उपलब्धिका रूपमा हेरिएको छ ।

अमेरिका र चीनबीचको व्यापार विवाद, दुईवटा विमान दुर्घटना र उत्पादन समस्याका कारण बोइङ विश्वको दोस्रो ठूलो उड्डयन बजार गुमाउँदै आएको थियो ।

यस अवधिमा प्रतिस्पर्धी युरोपेली कम्पनी एयरबसले चिनियाँ बजारमा आफ्नो पकड थप मजबुत बनायो। बोइङ र एयरबस दुवैको बजार अनुमानअनुसार चीनलाई सन् २०४५ सम्म कम्तीमा ९ हजार नयाँ जेटलाइनर आवश्यक पर्नेछ।

विशेषज्ञहरूका अनुसार चीनको उड्डयन बजार एउटै कम्पनीमा निर्भर रहन सम्भव छैन, जसले बोइङका लागि अझै ठूलो अवसर खुला राखेको छ ।

बोइङका प्रमुख कार्यकारी अर्टबर्गले गत महिना नै ट्रम्प प्रशासनको सक्रिय समर्थनका कारण चीनसँग ठूलो सम्झौता हुनेमा आफू पूर्ण आशावादी रहेको बताएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार ०९:१५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।