पर्वत ।सरकारले सञ्चालन गरिरहेको ‘मूल्यमा पारदर्शिता सप्ताह’ अन्तर्गत शनिबार पर्वतका विभिन्न स्थानीय तहमा बजार अनुगमन गरिएको छ। कृषिजन्य तथा मासुजन्य वस्तुको गुणस्तर, मूल्यसूची, बीउबिजन, विषादी र पशु औषधिको अवस्था परीक्षण गर्न अनुगमन गरिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा जलजला गाउँपालिका, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका पसलमा अनुगमन गरिएको भेटेरिनरी अस्पतालका प्रमुख सुरेशकुमार श्रेष्ठले बताए।
अनुगमनका क्रममा नौ मासु पसल, एक माछा पसल, पाँच भेटेरिनरी सेन्टर, तीन डेरी उद्योग तथा तीन बीउ भण्डार/एग्रो सेन्टर गरी २० वटा व्यवसायको निरीक्षण गरिएको थियो।
अधिकांश पसलमा मूल्यसूची नराखिएको, सरसफाइमा बेवास्ता गरिएको, व्यवसाय नवीकरण नगरिएको तथा विषादी र अन्य सामग्री एउटै स्थानमा राखेर बिक्री गरिएको पाइएको छ।
केही विषादी विक्रेताले जोखिम संकेतसमेत नराखेको भेटिएको छ। मासु पसलमा सबै प्रकारका मासु एउटै फ्रिजमा राखिएकोसमेत अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोलीले मासु पसलमा सेतो टायल प्रयोग गर्न, दाउ र अचानो छुट्टाछुट्टै राख्न तथा हात धुने बेसिनसहितको धारा जडान गर्न सुझाव दिएको छ।
पहिलोपटक गरिएको अनुगमनमा समस्या देखिएका व्यवसायलाई सुधारका लागि एक साताको समय दिइएको छ। तत्काल मूल्यसूची राख्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न र विषादी बिक्री–वितरणमा सावधानी अपनाउन आग्रह गरिएको कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले बताए। सुधार नगरे आगामी अनुगमनमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, पर्वत उद्योग वाणिज्य संघ तथा सम्बन्धित पालिकाका कृषि र पशु शाखाका प्रतिनिधिको सहभागिता थियो। जिल्लाका अन्य स्थानीय तहमा पनि यस्तै अनुगमन गरिने कार्यालयले जनाएको छ।




















प्रतिक्रिया