Logo

sports

विश्वकप लिग–२: अमेरिकामाथि नेपालको प्रभावशाली जित



काठमाडौँ। विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित निकालेको छ।

जित्नै पर्ने कठिन अवस्थामा रहेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै प्रभावशाली जित निकालेको हो। नेपालको जितमा कुशल भुर्तेलले शतकीय इनिङ्स खेले।

उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। उनले १ सय १८ बलमा १ सय २० रनको अविजित शतकीय इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १३ चौका र ४ छक्का प्रहार गरे।

भुर्तेलले आसिफ शेखसँग पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेका थिए। आसिफ ५८ रनको अर्शतकीय इनिङ्स खेलेर आउट भए। भुर्तेललाई इशान पाण्डेले २० रनमा साथ दिएका थिए। नेपालको यो जारी सिरिजमा पहिलो जित हो।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले जितका लागि नेपालसमक्ष १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३. ३ ओभरमा १ सय ९५ रन बनाउँदा अलआउट भयो।

अमेरिकाका लागि ओपनर सुमित पटेलले ८३ रन बनाउँदा सेहान जयसूर्यले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यी दुईबाहेक मिलिन्द कुमारले २८ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए। तर पछिल्लो क्रम सम्हालिन नसक्दा पूरा ओभर टिक्न सकेन।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १-१ विकेट लिए।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ०७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।