Logo

अर्थ

एएमएल नेपालद्वारा घरजग्गा व्यवसायीका लागि सम्पत्ति शुद्धीकरण निवारण सचेतना कार्यशाला



काठमाडाैं । एएमएल नेपालले भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट इजाजत प्राप्त घरजग्गा व्यवसायीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण (एएमएल) सम्बन्धी विशेष सचेतना कार्यशाला सम्पन्न गरेको छ ।

कार्यशालामा घरजग्गा कारोबारका क्रममा उत्पन्न हुन सक्ने वित्तीय जोखिम, राष्ट्रियस्तरको जोखिम मूल्याङ्कन तथा नियामकीय व्यवस्थाबारे विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ ।

नेपालको घरजग्गा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा वित्तीय जानकारी एकाइ (एफआईयू) तथा अन्य नियामक निकायहरूको चासो र अपेक्षाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।

साथै हालै इजाजत प्राप्त गरेका घरजग्गा कम्पनीहरूले व्यवसाय सञ्चालनका क्रममा अपनाउनुपर्ने कानुनी प्रक्रिया र पूर्वतयारीबारे पनि प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यशालाको सहजीकरण एएमएल नेपालका विज्ञ श्रीधर अधिकारी तथा सेलिना अधिकारी ले गरेका थिए । प्रशिक्षणका क्रममा उनीहरूले घरजग्गा व्यवसायीहरूले वित्तीय अपराध नियन्त्रणमा निर्वाह गर्नुपर्ने भूमिका, जोखिम पहिचान, रिपोर्टिङ प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यावसायिक आचरणबारे जानकारी दिएका थिए ।

विशेषगरी नयाँ इजाजत प्राप्त घरजग्गा व्यवसायीहरूलाई लक्षित गर्दै सञ्चालन पूर्वको तयारी, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनका प्राविधिक पक्षलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

एएमएल नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नीति निर्माण, कर्मचारी दक्षता अभिवृद्धि, संस्थागत स्वास्थ्य परीक्षण तथा आवश्यक प्रणाली र सफ्टवेयर सहयोग जस्ता परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीले घरजग्गा कारोबारमा पारदर्शिता प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सम्पत्ति शुद्धीकरणको जोखिमबाट सुरक्षित राख्न यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार १२:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।