Logo

अर्थ

कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै



काठमाडौं । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान पुनः सुरु गर्ने भएको छ । इरानसँग इजरायल–अमेरिका तनावका कारण स्थगित रहेको यो सेवा आगामी मंगलबारदेखि सञ्चालनमा आउन लागेको हो ।

कुवेत एयरवेजकाअनुसार अबदेखि हप्ताको दुई दिन नियमित रूपमा जहाज उड्ने भएको छ ।

नयाँ तालिकाअनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट कुवेतका लागि उडानहरू हुनेछन् । कम्पनीले यसपटक ठूलो क्षमताको ‘एयरबस ३३०–८००’ जहाज प्रयोग गर्ने निर्णय गरेको छ ।

यसले एकै पटक २३५ जना यात्रुले यात्रा गर्न सक्नेछन् । सुरुवाती चरणमा विशेष गरी कुवेतमा अड्किएका र काठमाडौंबाट कुवेत जान नपाएका यात्रुहरूलाई लक्षित गरी यो सेवा सुचारु गर्न लागिएको हो । उडान स्थगित हुँदा टिकट काटेर पनि यात्रा गर्न नपाएका यात्रुहरूलाई कम्पनीको सम्पर्कमा आएर आफ्नो टिकट परिवर्तन गर्न समेत कुवेत एयरलायन्सले जनाएको छ ।

फेब्रुअरी २८ देखि कुवेत एयरवेजले आफ्ना उडानहरू बन्द गरेको थियो । त्यसभन्दा अघि यो एयरवेजले नेपालमा दैनिक रूपमा हप्ताको सातै दिन उडान भर्दै आएको थियो ।

उडान बन्द भएको अवधिमा पनि कम्पनीले भैरहवा र काठमाडौंबाट केही विशेष उडानहरू मार्फत कैदीबन्दीहरूलाई ल्याउने काम गरेको भए तापनि नियमित व्यावसायिक उडान भने पूर्ण रूपमा ठप्प रहेको थियो । अहिलेका लागि सबै उडानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुनेछन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार १६:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।