Logo

अर्थ

लुम्बिनी विकास बैंकको साख घट्यो, वित्तीय अवस्था दयनीय



काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको वित्तीय अवस्था दवावमा देखिएको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले बैंकको संस्थागत साख मूल्यांकन घटाउँदै बीबीबाट बीबी माइनसमा झारेपछि बैंकको वित्तीय अवस्था थप नाजुक बनेको तथ्य बाहिरिएको हो।

तथ्यांकअनुसार बैंकको कर्जा गुणस्तर कमजोर बन्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा निष्क्रिय कर्जा अनुपात उल्लेख्य रूपमा बढेर ६.७८ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यस्तो अनुपात ४.६८ प्रतिशतमा सीमित थियो । त्यस्तै, गैर बैंकिङ सम्पत्तिसहित समायोजित निष्क्रिय कर्जा पनि बढेर ७.३ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दै जाँदा त्यसको असर बैंकको पूँजी तथा नाफा क्षमतामा समेत परेको छ । खुद निष्क्रिय कर्जा र खुद पुँजीबीचको अनुपात करिब १६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष करिब १२ प्रतिशत थियो । यसले बैंकको जोखिम वहन क्षमता कमजोर बन्दै गएको संकेत गर्दछ ।

त्यसैगरी, बैंकको निक्षेप संरचनामा समेत अपेक्षित सुधार देखिएको छैन । चालु तथा बचत खाताको हिस्सा करिब ४६ प्रतिशतमा सीमित रहेको छ, जुन विकास बैंकहरूको औसतभन्दा निकै कम हो । कम लागतको निक्षेप कमजोर हुँदा बैंकको लागत व्यवस्थापनमा दबाब बढ्ने देखिएको छ ।

त्यस्तै, बैंकको कर्जा पोर्टफोलियो सीमित समूहमा केन्द्रित हुनु अर्को चुनौतीका रूपमा देखिएको छ । शीर्ष २० ऋणी समूहमा कुल कर्जाको करिब १७ प्रतिशत हिस्सा केन्द्रित रहेको छ । यसले केही ठूला ऋणीमा समस्या आए सम्पूर्ण बैंकको वित्तीय अवस्थामै असर पर्न सक्ने जोखिम बढाएको विश्लेषण गरिएको छ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले विकास बैंकहरूको संरचनात्मक सीमितता, सीमित वित्तीय उत्पादन तथा नियामकीय दायराका कारण दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्ने अवस्था रहेको उल्लेख गरेको छ ।

साथै, आर्थिक गतिविधिमा सुस्तता, बाह्य मुलुकमा बढ्दो तनाव तथा रेमिट्यान्स प्रवाहमा आउन सक्ने दबाबले निक्षेप वृद्धि र ऋण असुली क्षमतामा थप असर पार्न सक्ने चेतावनी पनि दिइएको छ ।

बैंकको शाखा सञ्जाल, सञ्चालन अनुभव तथा पूँजी पर्याप्ततामा केही सकारात्मक आधार देखिए पनि सम्पत्ति गुणस्तर र आम्दानी क्षमतामा आएको गिरावटले समग्र वित्तीय अवस्था चुनौतीपूर्ण बनेको इकरा नेपालले औल्याएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार ०९:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।