काठमाडौं । सुकुम्बासी बस्तीहरूमा निरन्तर डोजर चलाइएको विरोधमा बुटवलमा पनि विशाल प्रदर्शन भएको छ । भूमिहीन तथा सुकुम्बासी समुदायले राज्य दमनको आरोप लगाउँदै बालेन्द्र साह नेतृत्व सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा हजारौं मानिस सहभागी थिए ।
प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि विभिन्न स्थानमा बस्ती हटाउने अभियान नरोकिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले गरिब तथा निमुखा नागरिकमाथि बल प्रयोग गरेर घर भत्काउने काम तत्काल बन्द गर्न माग गरेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा ठूलो तनाव सिर्जना भएको थियो । सो क्रममा स्थानीयवासी र नगर प्रहरीबीच झडपसमेत भएको थियो । त्यसपछि विभिन्न मानवअधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले वैकल्पिक व्यवस्थाविनै बस्ती हटाउन नहुने बताएका थिए ।
त्यसैगरी, बाँकेको नेपालगञ्ज र मकवानपुरको हेटौंडा क्षेत्रमा पनि हालै डोजर चलाएर सयौं घरटहरा हटाइएको थियो । स्थानीयवासीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँमा एक्कासि डोजर चलाउँदा आफूहरू विचल्लीमा परेको बताएका थिए । कतिपय परिवार खुला आकाशमुनि बस्न बाध्य भएका थिए ।
काठमाडौंको माइतीघर मण्डलामा गत साता विभिन्न सुकुम्बासी संगठनहरूले संयुक्त प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले “पहिला व्यवस्थापन, त्यसपछि मात्र हटाउने” नीति लागू गर्न माग गरेका थिए ।
डोजर अभियानलाई लिएर राजनीतिक वृत्तमा पनि बहस चर्किँदै गएको छ । सर्वोच्च अदालतले बस्ती हटाउँदा मानवीय संवेदनशीलता अपनाउन र वैकल्पिक व्यवस्थाबिना बल प्रयोग नगर्न आदेश दिएपनि स्थानीय तह र सरकारी निकायले त्यसलाई बेवास्ता गरेको आरोप लागिरहेको छ ।
वर्षायाम नजिकिँदै गर्दा आश्रयविहीन बनेका परिवारहरूको अवस्था थप जटिल बन्ने चिन्ता व्यक्त गरिएको छ । सुकुम्बासी समुदायले आफूहरूलाई अपराधीजस्तै व्यवहार गरिएको भन्दै राज्यसँग सम्मानजनक पुनर्स्थापनाको माग गरेका छन् ।






















प्रतिक्रिया