काठमाडौं । निश्कल राई ले सरकारले निजी क्षेत्रप्रति दमनकारी व्यवहार गरेको आरोप लगाएका छन्। उनका अनुसार सरकार उद्योगी–व्यवसायीप्रति “पहिला थुन्ने अनि मात्र सुन्ने” नीति अपनाएर अघि बढिरहेको छ।
सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै नेपाली कांग्रेस का सचेतक राईले सरकार गठनअघि अर्थमन्त्रीले उद्योगी–व्यवसायीलाई बिना कारण दुःख नदिने र अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराए। तर व्यवहारमा भने त्यसको विपरीत स्थिति देखिएको उनले बताए।
उनले सरकारको बोली र व्यवहारबीच ठूलो अन्तर देखिएको टिप्पणी गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनिए पनि व्यवहारमा त्रसित बनाउने काम भइरहेको आरोप लगाए।
राईले प्रतिष्ठित उद्योगी–व्यवसायीहरूलाई प्रतिशोधका आधारमा पक्राउ गरिएको र पछि अदालतको आदेशबाट छुटेका घटनाले सरकारको नियतमाथि प्रश्न उठाएको बताए।
उनले अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच पनि समान धारणा नदेखिएको उल्लेख गरे। “उद्योगी–व्यवसायी पक्राउ परेको विषय अर्थमन्त्रीले सञ्चारमाध्यमबाट थाहा पाउनुहुन्छ भन्ने सुनिन्छ,” उनले भने, “अर्थमन्त्रीको धारणा एउटा र प्रधानमन्त्री कार्यालयको व्यवहार अर्कै हुनु दुःखद अवस्था हो।”
राईले सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि त्यसलाई हासिल गर्ने ठोस आधार नदेखिएको बताए।
उनले चिया निर्यात अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घटेको तथ्य उल्लेख गर्दै छिमेकी मुलुकको नीतिगत परिवर्तनका कारण उत्पन्न समस्यामा सरकारले प्रभावकारी पहल गर्न नसकेको आरोप लगाए।
उनका अनुसार नेपाललाई तुलनात्मक लाभ भएको क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भीर नदेखिएको तथा सरकार–सरकार स्तरमा आवश्यक कूटनीतिक पहलसमेत कमजोर रहेको छ।





















प्रतिक्रिया