काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक एआईजी पदका लागि पाँच जना डीआईजीबीच प्रतिस्पर्धा तिब्र हुने भएको छ । सरकार परिवर्तनपछि पनि सुरक्षा निकायमा सरुवा–बढुवा प्रक्रिया समयमै अघि बढ्न नसक्दा संगठनभित्र अन्योल र प्रतिस्पर्धा दुवै बढेको छ ।
रिक्त रहेको एआईजी पदका लागि हाल पाँच जना डीआईजीबीच प्रतिस्पर्धा देखिएको छ । बरिष्ठता, कार्यसम्पादन, राजनीतिक पहुँच र संगठनभित्रको प्रभावका आधारमा विभिन्न नाम चर्चामा आएका छन् ।
एआईजी बढुवाका लागि डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीप पाल सिनियर डीआईजी मानिन्छन् । दुवै अधिकारी संगठनभित्र लामो अनुभव, नेतृत्व क्षमता तथा विभिन्न जिम्मेवारी सम्हालेको आधारमा बलिया दाबेदारका रूपमा हेरिएका छन् ।
यस्तै, पछिल्लो बढुवा क्रमअनुसार डीआईजी सुरेशकुमार श्रेष्ठ पहिलो नम्बरमा रहेका छन् भने अञ्जनी कुमार पोखरेल दोस्रो, दिपेन्द्र शाह तेस्रो र पुरुषोत्तम थापा चौथो नम्बरमा डीआईजीमा बढुवा भएका थिए ।
बरिष्ठताको यही सूचीलाई आधार मान्ने हो भने श्रेष्ठको दाबी स्वाभाविक रूपमा बलियो देखिन्छ । तर, उनी अगाडि २सिनियर रहेकाछन् । तर सुरक्षा निकायमा बढुवा केवल बरिष्ठतामा मात्रै सीमित नहुने भएकाले अन्तिम निर्णयमा कार्यक्षमता, राजनीतिक विश्वास, मन्त्रालयसँगको समन्वय र भावी नेतृत्व योजनाले पनि प्रभाव पार्ने जानकारहरू बताउँछन् ।
पछिल्ला वर्षहरूमा सुरक्षा निकायका उच्च तहका नियुक्तिमा राजनीतिक शक्ति केन्द्रहरूको प्रभाव बढेको टिप्पणी समेत हुने गरेको छ । गृह प्रशासन स्रोतका अनुसार रिक्त एआईजी पदमा बढुवाका लागि गृह मन्त्रालय र मन्त्रिपरिषद् स्तरमा अनौपचारिक छलफल सुरु भइसकेको छ । यद्यपि औपचारिक निर्णय भने अझै भएको छैन ।
संगठनभित्र भने “बरिष्ठता कि पहुँच ? ” भन्ने बहस पुनः चर्किएको छ । एकथरी अधिकारीले स्पष्ट बरिष्ठता प्रणाली लागू हुनुपर्ने धारणा राखेका छन् भने अर्को पक्षले संगठनको भावी नेतृत्व सम्हाल्न सक्ने क्षमता र कार्यदक्षतालाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ ।
एआईजी नियुक्तिको निर्णयले आगामी दिनमा सशस्त्र प्रहरी बल नेपालको नेतृत्व समीकरणमा समेत ठूलो प्रभाव पार्ने देखिएको छ ।





















प्रतिक्रिया