काठमाडौं । प्रहरीले बौद्ध क्षेत्रबाट १२ केजी ‘पोल्याण्ड’ नामक लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केहीको साथबाट पेस्तोल र एयरगन समेत बरामद भएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बौद्धस्थित जबमुडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा फोहोरमैला सङ्कलन केन्द्रमा लुकाएर राखिएको अवस्थामा एउटा पेस्तोल र एउटा एयरगन फेला परेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीका अनुसार ‘पोल्याण्ड’ भन्नाले गाँजालाई पेलेर धुलो बनाई चुरोटमा राखेर सेवन गरिने पदार्थलाई जनाइन्छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुलीका विनोद अधिकारी, विकास सुनुवार, सुदीप परियार र सक्सन दोर्जे लामा लगायत रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















प्रतिक्रिया