Logo

समाचार

पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा किन छाडियो?



काठमाडौं। घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार गरेको आदेशमा आज सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख छ।

आदेशमा भनिएको छ, ‘मुद्दाको फैसला हुँदाका बखत ठहरेबमोजिम हुने गरी हाललाई राजकुमार गुप्ताबाट विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम यी निवेदक प्रतिवादीबाट ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नू।’

विशेष अदालत काठमाडौंले आदेश पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई बदर गर्दै गुप्तालाई धरौटीमा थुनामुक्त गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदक प्रतिवादी राजकुमार गुप्तालाई मुद्दा पर्पक्षका लागि थुनामा राख्ने गरी विशेष अदालत, काठमाडौंबाट २०८२/९/१६ गते भएको आदेश मिलेको नदेखिँदा बदर गरी दिएको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता सामान्य प्रशासनमन्त्री भएको बेलामा रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीबाट सरुवा थमौती गराइ दिने तथा खमबहादुर पुनलाई भूमिसम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति दिलाउन घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो।

अदालतले प्रतिवादी रामचन्द्र अधिकारी, तुल्सीराम बुढा मगर र रन्जिता श्रेष्ठको हकमा धरौटीमा थुनामुक्त गर्ने विशेष अदालतको आदेश सदर गरेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १९:४८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।