Logo

समाचार

‘हान्टा भाइरसको जोखिम नेपालमा छैन, आतंकित नहुनू’



काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताए।

उनका अनुसार नेपालमा हान्टाभाइरस सङ्क्रमणको अझै पुष्टि भएको छैन । यो एक प्रकारको दूर्लभ भाइरस हो । यो भाइरस मुख्यतः सङ्क्रमित मुसाको पिसाब, दिसा र र्‍यालबाट मानिसमा सर्ने गर्दछ ।

तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा सङ्क्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहेको हुन्छ ।

मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक आतङ्क सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । साथै मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

त्यसैगरी, मन्त्रालयले हान्टाभाइरस सङ्क्रमणको सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

मन्त्रालयले घर तथा वरपरको वातावरण सफा गर्न, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गर्न, हात साबुनपानीले नियमित धुने बानी गर्न, ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार २१:२२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।