Logo

अर्थ

भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन विभागको सिफारिस, बिगो मागदाबी २० अर्ब



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

विभागले वैशाख दोस्रो साता सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमार्फत उक्त सिफारिस गरेको हो।

मुद्दा सिफारिस गरिएकामध्ये इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष शाहिल अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्वअध्यक्ष शेखर गोल्छा रहेका छन्।

विभागले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरेको थियो।

शंकरलाल अग्रवाललाई चैत २० गते पक्राउ गरी दुई दिन हिरासतमा राखेर हाजिरी जमानीमा रिहा गरिएको थियो।

भट्ट र सुलभ भने हाल पनि हिरासतमा रहेका छन्।

शेखर गोल्छालाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको भए पनि सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका छन्।

अन्य केही आरोपित फरार रहेको जनाइएको छ।

विभागले राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर तथा सन्दीप चाचान विरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको छ।

बिमा, धितोपत्र तथा सेयर कारोबारसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा उनीहरूमाथि २ देखि १० वर्षसम्म कैद, बिगोबमोजिम जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागसहित मुद्दा दायर गर्ने तयारी भइरहेको विभाग स्रोतले जनाएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ०७:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।