Logo

समाचार

अध्यागमनमा डिजिटल टाइम कार्ड सुरु, क्यूआर कोड स्क्यानबाटै आवेदन ट्रयाक



काठमाडौं । अध्यागमन विभागले सार्वजनिक सेवा प्रक्रियालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन ‘डिजिटल टाइम कार्ड’ सेवा सुरु गरेको छ।

विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै आवेदनको अवस्था र सेवाप्राप्तिको अनुमानित समय रियल टाइममै ट्र्याक गर्न सकिने प्रणाली लागू गरिएको जनाएको हो।

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका विभिन्न शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर सेवाग्राहीले आफ्नो आवेदनको अवस्था हेर्न सक्नेछन्।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत यो सेवा कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ।

विभागका अनुसार नयाँ प्रणालीले कर्मचारीको जिम्मेवारी र जवाफदेहितासमेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यसैबीच विभागले भिजिट भिसासम्बन्धी विकृति नियन्त्रणमा प्रगति भएको दाबी गरेको छ।

महानिर्देशक तिवारीले भिजिट भिसाको नाममा हुने अनियमितता, मानव तस्करीसँग सम्बन्धित गतिविधि तथा अध्यागमन प्रक्रियामा देखिने विभेद नियन्त्रणका लागि कडाइ गरिएको बताए।

उनले नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाइएको जानकारी दिँदै आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गरे।

अनुचित रूपमा फर्काइएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारबाही गरी पीडितलाई गन्तव्य देश पठाउने व्यवस्था गरिने उनले बताए।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ०९:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।