Logo

समाचार

सुदन गुरुङले दिए प्रेस काउन्सिलमा उजुरी: भोटेकोशी रिसोर्टले भन्यो- तथ्यहीन समाचार



काठमाडौं । पूर्व गृहमन्त्री सुदन गुरुङ एक युवतीसँग भोटेकोशीस्थित रिसोर्ट पुगेको विषय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत् चर्चामा आएपछि रिसोर्टले स्पष्टीकरण दिएको छ ।

भोटेकोशी होटेल रिसोर्ट एण्ड स्पा लिमिटेडले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संस्थाको नाम विभिन्न व्यक्ति र विषयसँग अनावश्यक रूपमा जोडेर “मनगढन्ते तथा काल्पनिक” सामग्री प्रकाशन तथा प्रसारण गरिएको स्पष्ट पारेको हो ।

रिसोर्टले आज एक विज्ञप्तिमार्फत नेपाल प्रहरीले गरिरहेको सामान्य सोधपुछ र विवरण संकलन प्रक्रियालाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको उल्लेख गरेको छ ।

साथै केही व्यक्तिले आफूलाई सञ्चारकर्मीका रूपमा परिचित गराउँदै होटलका कर्मचारीमाथि दबाब सिर्जना गर्ने, त्रसित बनाउने र जबर्जस्ती अभिव्यक्ति दिन बाध्य पार्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ ।

रिसोर्टद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधिबाट संस्थाको प्रतिष्ठा, व्यावसायिक विश्वसनीयता तथा आम सेवाग्राहीको विश्वासमा असर पुगेको उल्लेख गर्दै भ्रामक, कपोलकल्पित तथा तथ्यहीन समाचार र भिडियो सामग्री प्रकाशन–प्रसारण नगर्न आग्रह गरिएको छ ।

रिसोर्टले यस्ता कार्य नरोकिए कानुनी उपचारमा जाने चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा मुलुकी अपराध संहिता २०७४, व्यक्तिगत गोपनीयतासम्बन्धी ऐन २०७५ लगायत प्रचलित कानुनअनुसार आवश्यक कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका सुधन गुरुङले आफूविरुद्ध केही मिडियाले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी समेत दर्ता गरेका छन् ।

‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचारलाई उनले ‘पित पत्रकारिता’ को पराकाष्ठा र चरित्र हत्याको प्रयास भएको बताएका छन् । उनले आफू पारिवारिक भ्रमणमा रहेको विषयलाई तोडमरोड गरी प्रस्तुत गरिएको दाबी गर्दै दोषीमाथि प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।