Logo

sports

सुरु भयो काभा महिला भलिबल च्याम्पियनसिप, उद्घाटन खेलमा भारतसँग नेपाल पराजित



काठमाडौं । आज शुक्रबार सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटसम्म चलेको रोमाञ्चक खेलमा ३–२ को हार बेहोरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा भारतले नेपाललाई २१–२५, २५–२०, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो।

पहिलो सेटमा उत्कृष्ट सुरुवात गर्दै नेपालले २५–२१ को जित निकालेर घरेलु समर्थकलाई उत्साहित बनाएको थियो। तर दोस्रो र तेस्रो सेटमा भारतले खेलमा पुनरागमन गर्दै लगातार २५–२० र २५–१९ ले जित दर्ता गर्‍यो।

चौथो सेटमा भने नेपालले बलियो कमब्याक गर्दै २५–२१ ले जित निकाल्यो र खेललाई २–२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौं सेटमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि भारतले सुरुवातदेखि नै अग्रता कायम राख्दै १५–९ ले खेल आफ्नो पक्षमा पार्‍यो।

नेपालका लागि यो खेल भावनात्मक र महत्वपूर्ण बनेको थियो, किनभने राष्ट्रिय टोलीमा एकै पटक पाँच खेलाडीले डेब्यु गरेका थिए।

लिबेरो सुनिता खत्री, मिडल ब्लकर मीना सुनार, सेटर जस्मा महतो, सलिना बुढा मगर र बसन्ती साउदले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाउँदै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाए।

कप्तान निरुता ठगुन्नाको नेतृत्वमा उत्रिएको युवा नेपाली टोलीले खेलभर अनुशासन, ऊर्जा र संघर्ष देखाए पनि निर्णायक क्षणमा अनुभवको कमी देखिएको विश्लेषण गरिएको छ

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल भोलि किर्गिस्तानसँग साँझ ५ बजे खेल्नेछ। समूहमा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता जेठ १५ गतेसम्म सञ्चालन हुनेछ र यसलाई एफआईभीबी र्‍याङ्किङका लागि महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ।

घरेलु मैदानमा हजारौं समर्थकको साथ पाए पनि नेपाल पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न असफल भए पनि प्रदर्शनले आगामी खेलका लागि सकारात्मक संकेत दिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार २०:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।