Logo

sports

काभा महिला भलिबलमा आज तीन खेल : नेपालले माल्दिभ्ससँग खेल्ने



काठमाडौ ।राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।

शनिबार भएको खेलमा नेपालले कीर्गिस्तानको राष्ट्रिय महिला टोलीलाई पराजित गरेको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

यस जितसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो।

यस जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लेको छ। कीर्गिस्तानको भने यो पहिलो हार हो। कीर्गिस्तानको दुई खेलबाट तीन अंक रहेको छ।

नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ। यता कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ। प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, माल्दिभ्स र भारत छन्।

त्यसैगरी, समूह ‘बी’ मा श्रीलंका, इरान, बंगलादेश र काजकिस्तान रहेका छन्।

प्रतियोगितामा आइतबार तीन खेल हुनेछन्। पहिलो खेल १२ बजे इरान र श्रीलंकाबीच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, नेपाल र माल्दिभ्सबीचको तेस्रो खेल भने साँझ ५ः०० बजेदेखि सुरु हुनेछ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार ०९:३५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।