Logo

राजनीति

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद्, सरकारले चलाउँछ- मन्त्री यादव



हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटमा फसेको हेटौँडा सिमेन्ट उद्योगको आइतबार निरीक्षण गरेकी छन्।

निरीक्षणका क्रममा उनले उद्योग व्यवस्थापन तथा कर्मचारीसँग छलफल गर्दै उद्योग पुनः नियमित सञ्चालनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको बताइन्।

छलफल कार्यक्रममा मन्त्री यादवले सरकारी स्वामित्वका उद्योग बन्द हुनु दुःखद् भएको उल्लेख गर्दै बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने दिशामा सरकारले अध्ययन र तयारी गरिरहेको जानकारी दिइन्।

“हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,” उनले भनिन्, “निजी क्षेत्रका सिमेन्ट उद्योग सञ्चालन भइरहँदा सरकारी उद्योग बन्द हुनु राम्रो संकेत होइन।”

उद्योग बन्द हुँदा रोजगारी गुम्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्ने उल्लेख गर्दै उनले उद्योग सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताइन्। उनले उद्योग सञ्चालनमा सरकारसँगै व्यवस्थापन र कर्मचारीको पनि समान भूमिका आवश्यक पर्ने धारणा राखिन्।

कार्यक्रममा उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना तथा जीर्ण मेसिनका कारण उत्पादन प्रभावित हुँदै आएको बताए। आर्थिक अभावका कारण कच्चा पदार्थ आपूर्ति हुन नसक्दा उद्योग बन्द गर्नुपरेको उनले जानकारी दिए।

उनका अनुसार उद्योगले मर्मतसम्भार गर्दै सीमित रूपमा उत्पादन गरिरहेको भए पनि पछिल्लो समय कच्चा पदार्थ अभावले उत्पादन पूर्ण रूपमा रोकिएको हो।

आर्थिक संकटका कारण कर्मचारीले ११ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् भने कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता र विद्युत् महसुलसमेत भुक्तानी हुन बाँकी छ।

“तत्काल देखिएका आर्थिक समस्या समाधान गर्न सकिए उद्योग नियमित सञ्चालन गर्न सकिन्छ,” साहले भने।

वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको थियो। उद्योगका उपकरण पुराना भइसकेकाले प्रभावकारी उत्पादन गर्न कठिन भइरहेको प्राविधिकहरूको भनाइ छ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार १८:४२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।