Logo

समाचार

पत्रकार किशोर श्रेष्ठको पक्षमा उभिए प्रेस संगठन



काठमाडाैं । प्रेस चौतारी नेपालले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध भइरहेको भनिएको धरपकड, धम्की, निगरानी र मानसिक दबाबप्रति गम्भीर आपत्ति जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा दबाब सिर्जना गरिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गर्दै धरपकड, धम्की तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक भएको उल्लेख गरिएको छ।

प्रेस चौतारीले यस्तो गतिविधिलाई “अलोकतान्त्रिक” र “स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार” को संज्ञा दिएको छ। संगठनले राज्य शक्तिको आडमा सञ्चारमाध्यम तथा पत्रकारविरुद्ध प्रतिशोध र षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसको घोर निन्दा तथा भर्त्सना गरेको छ।

विज्ञप्तिमा किशोर श्रेष्ठले आफूमाथि उठाइएका आरोपबारे निष्पक्ष छानबिनको माग गरिरहेकै बेला उल्टै धम्की, निगरानी र मानसिक दबाब बढ्नुले सरकारको व्यवहार र न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।

प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने, पत्रकारलाई धम्क्याउने र सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने गतिविधिविरुद्ध सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

संगठनले सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारमाथि हुने धाकधम्की, प्रतिशोध र अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न पनि आग्रह गरेको छ।

 

 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १३:५९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।