Logo

राजनीति

मानव अधिकार आयोगले भन्यो- ‘टीओबी’ समूहले विद्यार्थीलाई मानव ढाल बनाएर संसद्‍ भवनमा आक्रमण गर्न लगाए



काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा तिब्बतीय ओरिजिनल ब्लड (टीओबी) समूहले घुसपैठ गरेर हिंसा भड्काएको निष्कर्ष निकालेको छ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार भदौ २३ गते सुरु भएको शान्तिपूर्ण प्रदर्शनलाई टीओबी समूहले कब्जा गरेर हिंसात्मक बनाएको उल्लेख गरिएको छ।

आयोगले ‘टीओबी’ नामक बाइकर समूहले आन्दोलनकारी विद्यार्थीहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आक्रमण र आगजनी गर्न उक्साएको जनाएको छ।

प्रतिवेदनअनुसार भदौ २३ गते दिउँसो नयाँ बानेश्वरस्थित एभरेस्ट होटल आसपासका क्षेत्रमा प्रदर्शन भइरहेका बेला अचानक उक्त समूहको प्रवेशसँगै स्थिति भयावह बनेर हिंसात्मक बनेको हो।

प्रतिवेदनमा आन्दोलन उग्र बन्दै गएपछि ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका तथा हात र शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जना बाइकरहरू देखा परेको उल्लेख छ।

त्यही समूहले जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकाहरूलाई निषेधित क्षेत्र तोड्दै अगाडि बढ्न उक्साएको आयोगको निष्कर्ष छ।

आयोगले आन्दोलनलाई विध्वंसात्मक र हिंसात्मक बनाउने योजनासहित उक्त समूह सक्रिय रहेको र सुरक्षाकर्मीसँग जोगिन नवयुवा, जेन-जी र विद्यार्थीलाई सुरक्षा कवचका रूपमा प्रयोग गरिएको ठहर गरेको छ।

‘विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयुवाको शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा र विद्यार्थीलाई ढाल बनाई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयाससमेत गरी धनजनको क्षति पुर्‍याएको स्पष्ट हुन आयो,’ प्रतिवेदनमा उल्लेख छ।

यस समूहले योजनाबद्ध रूपमा संसद् भवनभित्र प्रवेश गरेर आगजनी प्रयास गरेको आयोगको भनाइ छ। टीओबी समूहको घुसपैठ र उत्तेजनापछि स्थिति नियन्त्रण बाहिर जाँदा मानव अधिकार आयोगको सवारी साधन, एम्बुलेन्स तथा अन्य सरकारी कार्यालयका गाडीहरूमा समेत तोडफोड र आगजनी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगले उक्त समूहको वास्तविक पहिचान तथा आयोजकहरूसँगको सम्बन्धबारे थप अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।

‘टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका ती १५/२० जनाको बाइकर समूहका व्यक्तिहरूको पहिचान, निजहरूको आयोजकहरूसँग कस्तो सम्बन्ध रहेको छ ? उनीहरू कसैबाट सञ्चालित हुन् कि होइनन् ?’ भन्ने विषयमा सूक्ष्म अनुसन्धान गरी निष्कर्षमा पुग्न आयोगले प्रतिवेदनमार्फत सरकारलाई आग्रह गरेको छ।

आन्दोलनलाई हिंसात्मक दिशामा लैजाँदै निर्दोष विद्यार्थी र युवाहरूलाई ढाल बनाएर राज्यका प्रमुख संरचनामाथि प्रहार गर्न उक्त समूहले मुख्य भूमिका खेलेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार २०:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।