Logo

समाचार

फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ



ललितपुर । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आफ्नो क्यूआर नेटवर्कमा युनियनपे इन्टरनेशनललाई एकीकृत गरेको घोषणा गरेको छ।

यससँगै युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सक्ने भएका छन्।

फोनपेका अनुसार चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुरलगायत विभिन्न देशका युनियनपे कार्डधारक तथा एप प्रयोगकर्ताले नेपालमा सहज डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन्।

यस सहकार्यबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले युनियनपेसँगको सहकार्यलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

‘युनियनपे विश्वकै ठूलो पेमेन्ट नेटवर्कमध्ये एक हो। यसको प्रयोगकर्ताले अब फोनपे क्यूआरमार्फत नेपालमा सिधै कारोबार गर्न सक्नु नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गन्तव्यका रूपमा स्थापित गर्ने कदम हो,’ उनले भने।

युनियनपे इन्टरनेशनलका उपाध्यक्ष जुहाङ बेइले नेपालमा विकसित क्यूआर नेटवर्क र बढ्दो पर्यटन बजारले सहकार्यका लागि अवसर सिर्जना गरेको बताए। उनका अनुसार अब युनियनपे प्रयोगकर्ताले नेपालभर आफ्नै देशसरह सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्।

फोनपेले जनाएको अनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये चीन र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको थियो।

यसअघि डिजिटल भुक्तानीको सीमित पहुँचका कारण उनीहरू नगदमा निर्भर रहँदै आएका थिए। नयाँ एकीकरणपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको फोनपेले जनाएको छ।

फोनपे क्यूआर प्रयोग गर्ने व्यवसायीले अब अन्तर्राष्ट्रिय ग्राहकबाट युनियनपे एपमार्फत भुक्तानी स्वीकार गर्न सक्नेछन्। यसले व्यवसायीको कारोबार विस्तार हुनुका साथै विदेशी ग्राहकसँगको कारोबार सहज हुने अपेक्षा गरिएको छ।

फोनपेले यसअघि अलिपे, भारतको यूपीआईलगायत विभिन्न अन्तर्राष्ट्रिय पेमेन्ट नेटवर्कसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका वालेट तथा डिजिटल भुक्तानी प्रणालीसँग पहुँच विस्तार गरिसकेको जनाएको छ।

सीमापार डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन आवश्यक नियामकीय व्यवस्था निर्माणमा सहयोग गरेको भन्दै फोनपेले नेपाल राष्ट्र बैंकप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहीबार २१:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।