काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीले संविधान तथा प्रतिनिधिसभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना नभएको भन्दै आपत्ति जनाए ।

उनले प्रतिनिधिसभा नियमावली, २०८९ को दफा ५६१ अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै उक्त प्रावधान कार्यान्वयन नभएको बताए ।

उनले भने,‘फेरी आज एकपटक यो देशको संविधान नियमावली मिचिएको दुखद कुरा संसदलाई अवगत गराउँछु । प्रतिनिधिसभा नियमावली २०८९ मा ५६१ मा प्रतिनिधिसभाका सदस्यहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ । जसअन्तर्गत १५–१५ जनाको समुह विभाजन गरिन्छ । तीन दिन अगाडि नै ति प्रश्न लिखित रुपमा सभामुखलाई दिने र प्रधानमन्त्री उपस्थित हुँदा एक घण्टा प्रश्नोउत्तर गर्ने नियमावली छ ।’

लामो समयदेखि सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गरेर संसद अवरोध गर्दै आएका थिए ।