Logo

समाचार

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग



प्रतिनिधि सभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सभाको आइतबारको बैठकको आकस्मिक समयमा उनीहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जङ्गली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गरे।

नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यही जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ का पार्तोला, मटेलालगायत वस्तीमा झण्डै ३०० रोपनी बगरमा परिणात भएको र ५० जनाको घरभित्र बाढी पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य जानकारी दिँदै तत्काल प्रभावित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराए।

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले कैलालीमा यही जेठ १४ गते आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकामा २५, जानकी गाउँपालिकामा ६ र बर्दगोरिया गाउँपालिका ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उठाएको जानकारी दिँदै विपद्पीडित नागरिकलाई तत्काल राहत दिन आग्रह गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले जङ्गली बँदेलका आतङ्कका कारण दैलेखको भैरवी गाउँपालिकाका स्थानीय हैरान भएको जनाउँदै जङ्गली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गरे।

कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५/१५ मिटर क्षेत्रभित्रको संरचना खाली गराउनेसम्बन्धी सङ्घीय सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले सो क्षेत्रमा बसोबास गरिरहेका १५ लाखभन्दा बढी नागरिकलाई त्रसित बनाएको भन्दै सो नीति परिवर्तन गर्न सरकारको ध्यानकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अफ्साना बानुले गत भदौ २४ गतेको घटनामा झुटा मुद्दा लगाएर कतिपय युवालाई फसाइएको र उनीहरुका परिवारजन माइतीघर मण्डलामा १८ दिनदेखि धर्नामा बसिरहेको सुनाउँदै उनीहरुका माग सम्बोधन गर्न माग गरे।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।