Logo

अर्थ

यसपालि बजेटमा असाधारण काम गरेका छौं, मध्यावधिपछि आकार घट्दैनः अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको दाबी गरेका छन् । बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको उनको भनाइ छ ।

आगामी आवको बजेटबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले आफूले मन्त्रालय सम्हाल्नासाथ अभूतपूर्व तवरले सबै मन्त्रालयलाई सशक्त बनाइएको बताए ।

भौतिक मन्त्रालयमा २४/२५ प्रतिशतमात्र पूँजीगत बजेट खर्च भइरहेको थियो, तर धेरै ठूलो बजेट ओगटेर बसे पनि खर्च भने एकदमै न्यून हुने गरेको भन्दै उनले सबैलाई सकेसम्म धेरै पूँजीगत बजेट खर्च गर्न निर्देशन दिइएको जानकारी दिए । ‘म चैत १३ मा अर्थ मन्त्रालय आएको थिएँ, चैत मसान्तमा रेसियो हेर्दा त पूँजीगत खर्च नै १९/२० प्रतिशतमात्र भएको छ,’ वाग्लेले भने, ‘कमसेकम विनियोजित बजेट त खर्च गर्नुपर्‍यो नि । यसबारे के गर्नुपर्छ भनेर हामीले विनियोजन विधेयकमा संशोधन गरेर जेठ १६ बाटै काम गर्न मिल्ने गरी सहजीकरण गरिदियौं, यति भएपछि अर्थ मन्त्रालयले अड्कायो भन्न पाउँदैनन् ।’

विगतका वर्षहरूमा ठूलो आकारको बजेट ल्याउने र मध्यावधि समीक्षापछि त्यसलाई घटाउने प्रवृत्ति रहेकोमा यसपटक त्यस्तो नहुने उनले स्पष्ट पारे ।

‘अहिलेको प्रणाली र हामीले गरेका सुधारका कारण मध्यावधि समीक्षापछि २१ खर्ब २४ अर्बको बजेटलाई घटाएर १८–१९ खर्बमा झार्नुपर्ने अवस्था आउँदैन । हामी तोकिएको लक्ष्य भेटाउने गरी काम गरिरहेका छौं,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले १५ जेठमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।