Logo

राजनीति

नेविसंघका नेताहरूलाई तत्काल रिहा गर्न कांग्रेसको माग



काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषय ‘सीमा समस्या’बारे प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्तिको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेविसंघका नेता राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु अत्यन्त निन्दनीय कार्य भएको कांग्रेसको ठहर रहेको जनाइएको छ।

कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार १९:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।