काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको थियो।
भेटवार्तामा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन्।
उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा रहेको धारणा राखिन्।
उनले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौतीहरू व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा बालमैत्री संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताइन्।
लगानी विस्तार र डिजिटल पूर्वाधार विकासका क्षेत्रमा अमेरिकाले सहयोग गर्न तयार रहेको पनि उनको भनाइ थियो।
भेटवार्ताका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए।
उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानुनी व्यवस्थाबारे पनि जानकारी गराए।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्न आवश्यक रहेको बताए।
भेटवार्तामा नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।




















प्रतिक्रिया