काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारसँग थप पाँच दिनको समय मागेको छ।
प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा रहेकाले समय थप गर्नुपर्ने आवश्यकता परेको भन्दै समितिले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको हो।
मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भमा १५ दिनको कार्यावधि दिइएको थियो।
समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।
समितिका सदस्य नेउपानेका अनुसार गुरुङमाथिको छानबिन प्रक्रिया पूरा भइसकेको छ। प्रतिवेदन तयार पार्ने काम बाँकी रहेकाले थप पाँच दिनको समय मागिएको उनले बताए।
समितिले यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई थप समय आवश्यक पर्नेबारे मौखिक जानकारी गराइसकेको थियो।
समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ। उनका अनुसार अब प्रतिवेदन लेखनको काम मात्र बाँकी रहेको छ।
व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गुरुङले सेयर खरिद गरेको विषयमा समितिले छानबिन गरिरहेको छ। भट्टको कम्पनीमा गुरुङको नाममा रहेको सेयरबारे प्रश्न उठेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
सेयर खरिदका लागि प्रयोग गरिएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले सापटी लिएर लगानी गरेको दाबी गरेका छन्। छानबिनका क्रममा भट्टको कम्पनीमा उनले ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको भेटिएको छ।




















प्रतिक्रिया