काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याति र पहिचानमा मात्र सीमित नरहेको बताए।
उनले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताए।
‘खेलकुद केवल प्रतिस्पर्धाको विषय मात्र होइन, यो व्यक्तित्व विकासको प्रभावकारी माध्यम हो। यसले अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वास विकास गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउँछ,’ राष्ट्रपति पौडेलले भने।
उनका अनुसार खेलकुद परम्परागत मनोरञ्जनको सीमाभन्दा माथि उठेर आज आकर्षक पेशा तथा राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमका रूपमा स्थापित भएको छ।
राष्ट्रपति पौडेलले खेलकुदको महत्वलाई दृष्टिगत गर्दै विद्यालय तहदेखि नै खेलकुद गतिविधि, प्रतियोगिता र कार्यक्रमहरूलाई विस्तार गर्न आवश्यक रहेको बताए।
गुणस्तरीय शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर विद्यार्थीलाई खेलप्रति आकर्षित र प्रोत्साहित गर्न सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो।
उनले खेल क्षेत्रसँग सम्बन्धित निकाय, संघसंस्था तथा सरोकारवालाहरूले पनि खेलकुद प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
नेपालमा खेलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खेलकुदलाई भविष्य निर्माणको भरपर्दो आधारका रूपमा स्थापित गर्न राज्यले थप लगानी र प्राथमिकता दिनुपर्ने बताए।
‘खेलसँगै आफ्नो भविष्य सुरक्षित छ भन्ने भावना खेलाडीमा जागृत गर्न राज्यले आवश्यक वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने।
राष्ट्रपति पौडेलले विद्यालय तहदेखि नै शिक्षा र खेलकुदबीचको अन्तरसम्बन्धलाई सुदृढ गर्दै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगिताहरू संघ, प्रदेश तथा स्थानीय तहमा नियमित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए।
उनले जीत र हार खेलको स्वाभाविक पक्ष भए पनि प्रतियोगितामा सहभागिता, निरन्तर अभ्यास, प्रयास, सिकाइ र अनुभव नै खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण उपलब्धि हुने बताए। राष्ट्रपति पौडेलले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई सफलताको शुभकामना पनि व्यक्त गरे।




















प्रतिक्रिया