Logo

प्रमुख समाचार

म फेरि गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ



काठमाडाैं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरूङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गरेका छन् ।

आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उनले आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन भनेका हुन् ।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने।

सांसद गुरूङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए। ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु,’ उनले भने।

बयानका बेलाको एउटा रोचक प्रसंग कोट्याउँदै उनले भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।”

छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको गुरुङले बताएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १४:०८   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।