Logo

समाचार

पहिराले कर्णाली करिडोर अवरुद्ध



कालीकोट। लगातारको वर्षासँगै खसेको पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्डको सडक अवरुद्ध भएको छ।

मंगलबारदेखि परेको वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा यातायात सञ्चालन पूर्ण रूपमा प्रभावित भएको हो।

नरहरिनाथ गाउँपालिका–१ को लालीघाट–भौतेकुना खण्ड, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल क्षेत्र तथा पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले बताए।

उनका अनुसार निरन्तर वर्षा भइरहेका कारण पहिरो पन्छाउन आवश्यक उपकरण प्रभावकारी रूपमा परिचालन गर्न कठिन भएको छ।

बुधबार बिहानदेखि डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भए पनि करिब तीन किलोमिटर क्षेत्रमा लेदो बगेकाले काममा समस्या भइरहेको खत्रीले जानकारी दिए।

कर्णाली करिडोर हुँदै कालीकोटका रास्कोट, सान्नीत्रिवेणी र पचालझरना गाउँपालिकासहित बाजुरा तथा हुम्लाबाट आएका सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन्।

बिरामी, परीक्षार्थी तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गरिरहेका यात्रु लालीघाट, रेगिल, सान्नीगाड र खुलालु क्षेत्रमा अलपत्र परेका छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १९:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।