Logo

समाचार

संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता



काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बिहीबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

उनले देश बिर्सिएको दिन शीर्षकको कविता सुनाएकी हुन् ।

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ
म ढुक्क थिएँ
तर एकाएक
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ !
माटो छोएर कसम खायौ
तर
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ !
त्यसैले आज म ढुक्क होइन
मेरो मन देशको चिन्ताले
ढुकढुक भैरहेको छ । ।

स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशिष दिने
ति बा–आमालाई नबिर्स ! ! !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ
र जुन दिन देश बिर्सिन्छौ
त्यो दिन
तिमि कस्को शासक बन्नेछौ ?
भन
त्यो दिन तिमि
कस्को शासक बन्नेछौ?

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १३:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।