Logo

समाचार

अहिलेकै अवस्थामा स्वास्थ्य बीमा धान्न सकिँदैन: अर्थमन्त्री वाग्ले



काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिलेकै अवस्थामा स्वास्थ्य बीमा धान्न नसकिने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसदका जिज्ञासको जवाफ दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले स्वास्थ्य बीमालाई पुनर्संरचना गर्नुपर्ने बताए। ‘स्वास्थ्य बिमा पेचिलो विषय छ,’ उनले भने।

स्वास्थ्य बीमाका लागि पैसा दिँदादिँदै पनि धान्न मुस्किल भएको बताए। उनका अनुसार, गत आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि १० अर्ब विनियोजन गरिएको थियो। त्यसले नपुगेपछि दुई अर्ब थपिएको थियो।

आफू अर्थमन्त्री भएर आएपछि सात अर्ब थपेको उनले सुनाए। अझै पनि पाँच अर्ब थप्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो असिमित दायित्व छ। यो धानिँदैन हजुर।’

अहिले स्वास्थ्य बीमाको रकम दुरुपयोग भइरहेको पनि बताए। ‘अहिले यो पियोर ह्यान्ड आउटको रुपमा छ। ठूलो अब्युज छ,’ वाग्लेले भने।

अब यसलाई पुनर्संरचना गर्नुपर्ने उनको भनाइ थियो। यसका लागि सत्तापक्ष र विपक्षी दलका सांसद मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

‘धान्न सकिने, समन्यायिक समाज निर्माणका लागि असाध्यै भरथेग गर्न सकिने, भायबल, युनिभर्सल हेल्थ इन्सुरेन्स प्रोग्राम डिजाइन गरौँ,’ अर्थमन्त्री वाग्लेले भने।

विपन्न वर्गको राज्यले तिरिदिने र मध्यम वर्गले प्रिमियम तिर्नुपर्ने गरी यसमा सुधार गर्नुपर्ने उनले बताए। ‘विपिन्नहरूलाई प्रिमियर तिराउने कुरा आएन, राज्यले नै तिरिदिनुपर्छ,’ वाग्लेले भने, ‘आम नागरिक र मध्यम वर्गले प्रिमियम तिर्नुपर्छ। प्रिमियर तिरेअनुरुप उसले सेवा पाउने गरेर अगाडि जानुपर्छ।’

सबैलाई निःशुल्क हुने गरी स्वास्थ्य बीमाको व्यवस्था गर्न नसकिने उनको भनाइ छ। ‘स्वास्थ्य बीमा फ्रि भन्ने हुँदैन, सक्दैनौँ,’ उनले भने।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १९:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।