Logo

राजनीति

इप्पानको २४औँ साधारणसभा तथा आठौँ अधिवेशन शुक्रबार, निर्वाचन तयारी पूरा



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आफ्नो २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। साधारणसभा तथा अधिवेशन शुक्रबार काठमाडौंमा हुँदैछ।

इप्पानका अनुसार २०५७ माघ ४ गते आठ सदस्यबाट स्थापना भएको संस्थामा हाल ६८३ सदस्य आबद्ध छन्। विधान २०७८ अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको, उम्मेदवारी दर्ता सम्पन्न भएको र अन्तिम नामावलीसमेत प्रकाशन गरिएको संस्थाले जनाएको छ। बन्दसत्रपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

इप्पानले जेठ २५ गते बसेको २०३औँ कार्यसमिति बैठकबाट निर्वाचन कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ। सोही बैठकले महासंघ गठन र विधान संशोधनसम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको थियो।

महासंघ गठनसम्बन्धी कानुनी व्यवस्था र जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेका मापदण्डको अध्ययनपछि चैत ४ गते बसेको १९९औँ बैठकले महासंघमा जाने वा विद्यमान संरचनाअनुसार साधारणसभा तथा अधिवेशन गर्ने विषयमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको थियो।

त्यसपछि चैत १० गतेको पदाधिकारी बैठकले महासंघ गठन तत्काल सम्भव नभएको निष्कर्ष निकाल्दै विधान २०७८ अनुसार नियमित साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको इप्पानले जनाएको छ।

वैशाख ४ गते बसेको २००औँ बैठकले जेठ २९ गते साधारणसभा तथा अधिवेशन आयोजना गर्ने तथा विधान संशोधन प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

त्यसपछि वैशाख २७ गते सम्पन्न २०१औँ बैठकले नयाँ विधानको मस्यौदा स्वीकृत गर्दै साधारणसभामा पेश गर्ने निर्णय गरेको संस्थाको भनाइ छ।

प्रस्तावित विधानअनुसार जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त भएपछि आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइनेछ।

अध्यक्ष पदमा उम्मेदवारी दिन कार्यसमितिमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। अन्य पदमा भने योग्य सदस्यले उम्मेदवारी दिन सक्ने गरी २७ सदस्यीय कार्यसमितिको संरचना प्रस्ताव गरिएको इप्पानले जनाएको छ।

इप्पानले साधारणसभा, महासंघ गठन र विधान संशोधनसम्बन्धी सबै निर्णय सर्वसम्मत रूपमा भएको तथा कुनै सदस्यले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ नलेखेको स्पष्ट पारेको छ।

संस्थाले हाल केही व्यक्तिबाट इप्पानले अवैधानिक रूपमा निर्वाचन गर्न लागेको तथा महासंघको साधारणसभाको निर्णय कार्यसमितिले खारेज गरेको भन्ने भ्रामक सूचना फैलाइएको दाबी गरेको छ। निर्णय प्रक्रियामा सहभागी भई हस्ताक्षर गरेका व्यक्तिहरूबाटै यस्तो प्रचार हुनु दुःखद भएको संस्थाको भनाइ छ।

इप्पानका अनुसार महासंघ गठनसम्बन्धी प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा अन्य आवश्यक कागजात सदस्यहरूलाई पठाइसकिएको छ।

निर्वाचन प्रक्रियाअन्तर्गत एक उपमहासचिव र पाँच सचिवसहित ६ जना निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन प्रक्रिया जारी रहेको संस्थाले जनाएको छ।

संस्थाले महासंघ गठन र विधान संशोधनका विषय साधारणसभामै छलफल र निर्णय हुने भएकाले भ्रमपूर्ण प्रचारप्रति सचेत रहन सदस्यहरूलाई आग्रह गरेको छ। साथै सबै सदस्यलाई साधारणसभा तथा अधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक प्रचारप्रसार नगर्न सबै पक्षसँग आग्रह गरिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार ०७:५७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।