Logo

समाचार

पत्रकार र सांसदमाथिको अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति



काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताएका छन् । “कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,” उनले लेखेका छन् ।

उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै संसदको अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताएका हुन् । उक्त परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको दाबीसमेत उनको छ ।

ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गरेका छन् । पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि व्यक्त ग‍रेका छन् ।

“त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र ?” भन्दै ज्ञवालीले लेखेका छन् , “तर यस्तो उत्तेजनाले तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?”

अर्थमन्त्री वाग्लेको पछिल्लो अभिव्यक्तिपछि आर्थिक विधेयक र करसम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १७:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।