Logo

राजनीति

प्रचण्डको प्रस्ताव फिर्ता गराउन नेपाललाई ओलीको गुहार, वामदेवले भने, ‘पहिले आफू सच्चिनुस्’



पार्टीभित्रको विवाद समाधानका लागि आफ्नातर्फबाट पहल गरिदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका छन्  । खासगरी ओली पक्षका नेताहरुले प्रचण्डलाई भेटेरै यस्तो सुझाव र दबाब दुवै बढाएका हुन् । शुक्रबारमात्रै नेकपा महासचिव विष्णु पौडेल र अर्का नेता सुवास नेम्वागले प्रचण्डलाई पार्टी कार्यालयमा भेटेरै प्रस्ताव फिर्ता लिए विवाद टुङ्गिने र पार्टी विभाजन रोकिने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए ।

जवाफमा नेता नेपालले प्रचण्ड एक्लैले उक्त प्रस्ताव नल्याएको भन्दै ५ जना नेताहरुकै छलफल र सल्लाहमा ल्याएकोले कुनै हालतमा प्रस्ताव फिर्ता नहुने बरु कमिटीमै छलफल गरेर निकास खोज्नुपर्ने अडान दोहोर्याएका थिए ।  ‘त्यही छलफल गरौला नि, त्यही कुरा गर्दा हुन्छ । किन बाहिर सहमति गर्नुपर्यो र ? बैठकमा पेश भएको विषयमा छलफल गरेपछि कमिटीले जे भन्छ त्यही निर्णय मानेर अघि बढौला’, नेता नेपालले ओलीलाई जवाफ फर्काएका थिए । 

नेता नेपालसँगको भेटमा ओलीले प्रचण्डले आफुलाई घेराबन्दीमा पारेको, राम्रा काम गरेपनि त्यसको जस नदिएको र आफुलाई प्रहार गर्नमै रमाएको भन्दै सँधैभरी यसरी बस्नुभन्दा आ-आफ्नो बाटो लाग्नु नै उपयुक्त हुने बताएका थिए ।  त्यसको जवाफमा नेता नेपालले कुनै हालतमा पार्टी विभाजनको कुरा स्वीकार्य नहुने भन्दै अहिले अवस्थामा पूर्व एमाले र पूर्व माओवादी भनेर कित्ता छुट्टयाउन र व्यवहार गर्न नमिल्ने धारणा राखेका थिए ।

नेपालसँग लामो गन्थन गरेका ओलीले अन्तिममा आफुले के सहयोग गर्नुपर्ने हो, त्यो गर्न तयार रहेको बताएका थिए । भेटवार्तामा ओलीले अरु खासै ठोस प्रस्ताव अघि नसारे पनि ‘मैले तपाईलाई के सहयोग गर्नुपर्ने हो त्यो गर्न तयार छु’, भन्ने शैलीमा पुरानै गन्थन सुनाउनुभएको आफुले बुझेको नेपाल निकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघि शनिबार पनि ओलीले प्रस्ताव फिर्ता गराउन भन्दै नेता गौतमलाई बोलाएर कुरा गरेका थिए । शनिबारै ओलीले राष्ट्पतिलाई समेत भेटेर आफु अप्ठ्यारोमा परेको भन्दै गुनासो गरेका थिए ।  गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गर्दै सरकारको र पार्टीको समेत नेतृत्व गरेका अध्यक्ष ओली सच्चिनुको विकल्प नभएको बताएका थिए । तर ओली आफु सच्चिनुको साटो नेताहरुलाई फकाउने र आफ्नो गल्ती ढाककछोप गर्नतिरै लागिरहेका छन् । 

ओली प्रचण्डले सो प्रस्ताव फिर्ता लिएमात्रै मंसिर ३ का लागि तय भएको बैठक बसाउने पक्षमा छन् । तर, बहुमत सचिवालय सदस्यहरु पार्टी कमिटीमा पेश भएको दस्तावेज त्यही छलफल गरेर निकास खोज्नुपर्ने पक्षमा छन् ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार