Logo

सम्पादकीय

भ्रष्टाचारको भयावह अवस्था



नेपालमा गतबर्षको तुलनामा यस बर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । आयात निर्यात, सार्वजनिक सेवा कर भुक्तानी, ठेक्कापट्टा लगाएतका क्षेत्रमा नेपालमा भ्रष्टाचारले बढि प्रश्रय पाइरहेको छ । नेपालले गत वर्षको जस्तै यस बर्षपनि ३१ अंक नै पाएको छ र १२४ औं स्थानमा छ ।

गत बर्ष नेपाल १२२ औं स्थानमा थियो । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग , अनुगमन र कारवाहीमा कमि , राजनीतिक भ्रष्टाचार जस्ता दिर्घकालीन समस्या यथावत नै रहेको ट्रान्सपरेन्सीले जनाएको छ । त्यस्तै भ्रष्टाचार अवधारणा सूचकांक २०१८ मा नेपालले पाएको अंकले भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखाएको छ ।

प्रधानमन्त्री केपी ओलीले निरन्तर भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिइरहेका छन् । उनले देशमा भ्रष्टाचारीलाई कुनै छुट नभएको पनि बताउँदै आएका छन् । तर, भ्रष्टाचारको नियन्त्रण भने हुन सकिरहेको छैन ।

भ्रष्टाचार समृद्धिको बाधक हो । गरिवी र अभावमा जकडिएका, युद्ध र हिंसाले आक्रान्त बनेका, राज्यका अंगहरु भ्रष्टाचारले ग्रसित भएका मुलुकहरु सुशासनको सूचकांकमा कमजोर देखिएका छन् । यसलाई त्यति बढी अस्वाभाविक मान्नुहुँदैन । तर नेपालजस्तो राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेको, आर्थिक समृद्धि र विकासलाई मूल एजेन्डा बनाएको मुलुकमा सुशासन खस्किएको प्रतिवेदन आउनुले राम्रो भविष्यको संकेत गर्दैन । यसलाई जिम्मेवार तहबाट गम्भीरतापूर्वक लिइनुपर्छ र आउँदा दिनमा कमजोरी सच्याएर जान सक्नुपर्छ । अतः भ्रष्टाचारको भयावह अवस्थालाई नियन्त्रण गर्न जिम्मेवार निकाय एवं हरेक नागरिक सचेत हुन आवश्यक छ ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ३ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।