Logo

प्रमुख समाचार

गोलखाडामा शक्ति प्रदर्शन, रुकुमकोटमा निशेधाज्ञा



रुकुमपूर्वको सदरमुकाम गोलखाडा बनाउने सरकारको निर्णय कार्यान्वयनको माग गर्दै रुकुमपूर्वको गोलखाडा पक्षधर स्थानीय बासिन्दाले गोलखाडामा शक्ति प्रदर्शन गरेका छन् । स्थानीयले नारा जुलुस सहित पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १२ स्थित गोलखाडामा प्रदर्शन गरेको बताईएको छ । शक्ति प्रदर्शन पछिको कोण सभालाई जिल्ला नेता पुणीराज घर्ति, जीतमान पुन लगायतले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा सरकारको निर्णय कार्यान्वयनका लागि दबाव दिनु पर्ने र अदालतमा बिचाराधिन मुद्धा आफ्नै पक्षमा फैसला हुने आशा व्यक्त गरेका छन् । उनीहरुले सरकारी निर्णय कार्यान्वायनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् ।

नेता पुणीराज घर्तिका अनुसार, कोण सभापछि झण्डै ६ हजारको संख्यामा रहेका स्थानीयवासी नाराजुलुसहित रुकुमकोटतर्फ प्रस्थान गरेका छन् । जनमास प्रदर्शनसहित रुकुमगाडसम्म पुग्ने र प्रतिनिधिहरु जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाउने गरी तयारी गरिएको घर्तीले जानकारी दिनुभयो । प्रदर्शन गर्दै मंगलबार भुमे गाउँपालिका सम्म पुग्ने जनाईएको छ ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केहि शान्त भएपनि यहि १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ ।

रिट दर्ता भएको एक वर्षएसम्ममा पनि सर्वोच्च सरकार र रिट निवेदकलाइ पटकपटक पेशि र साधारण तरीकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाइ सर्वोच्चले आगामि २७ गते बोलाएको छ । यता रुकुम पूर्वको रुकुमकोटमा प्रशासनले लगाएको निषेधित कायमै छ । सदरमुकामको विवाद चुलिदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साझ ७ बजेबाट अनिश्चित कालका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निशेधाज्ञा कायमै रहेको जनाउनुभयो । सदरमुकाम लागी रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध छ ।

प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ को धौलापहिरा, पश्चिममा सोहि गाउँपालिका ५ को रानिकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ को रुकुमगाड हुँदै धाउनेको पारीघट्ट र दक्षिणमा सिस्ने गाउँपालिका ५ को सहिदपार्क हँुदै रुमालबारासम्म निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रजिअ शर्माले बताउनुभयो ।

सदरमुकामको विषयलाइ लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरीकहरु पनि आन्दोलित छन् । रुकुमकोट पक्षधरहरु रुकुमकोटबाट सदरमुकाम नसार्न आन्दोलित छन् भने गोलखाडाबासी भने सरकारले रुकुम पूर्वको सदरमुकाम सार्नलाई गरेको निर्णय कार्यन्वयनको लागि सक्रिय छन् ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १२ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।