Logo

प्रमुख समाचार

अमेरिकी राजदुत र ओलीबीच गोप्य भेटवार्ता, के -के भयो कुराकानी ?



प्रधानमन्त्री केपी शर्मा अ‍ोली र अमेरिकी राजदूत र्यान्डी बेरीबीच गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा अहिले चर्चामा रहेको भेनेजुएला प्रकरणबारे छलफल भएको बताइएको छ ।बेरीले प्रधानमन्त्रीसँग भेनेजुएलाबारे अमेरिकी धारणा प्रस्ट्याएपछि प्रधानमन्त्रीले पनि नेपालको धारणा स्पष्टसँग राखेका थिए ।

भेनेजुएलाको राजनीतिक संकटमा नेकपा र सरकारले अमेरिकी भूमिकाको वक्तव्यमार्फत् आलोचना गरेपछि राजदूत बेरी चिढिएका थिए । भेटमा उनले प्रधानमन्त्रीसमक्ष भेनेजुएलाको यथार्थ व्याख्या गर्दै सत्तारुढ दल र सरकारबाट आएका वक्तव्यहरूको विषय पनि उठाएकाे बालुवाटार निकट स्रोतले बतायो ।

‘भेनेजुएला प्रकरण र नेपाल–अमेरिका सम्बन्धबारे प्रधानमन्त्रीज्यू र राजदूतबीच छलफल भयो, हिजोको भेटबाट नेपाल–अमेरिकाको सम्बन्धमा आएको चिसोपना मेटिएको छ’, स्रोतले भन्यो ।प्रधानमन्त्री ओलीले नेपालले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाएका थिए ।

माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग असन्तुष्ट रहेका अमेरिकी राजदूत र प्रधानमन्त्रीको भेटबाट नेपाल–अमेरिका सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

यसअघि अमेरिका नेपालसँग रिसाएको चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि एउटै मञ्चमा देखिएका थिए । भेनेजुयलामा अमेरिकी हस्क्षेपका विरुद्ध सत्तारुढ नेकपा र सरकारको विज्ञप्तिले अमेरिका रिसाएको चर्चा चलेका बेला उनीहरुलाई सँगै देखिनुलाई कतिपयले आश्चर्यजनक रुपमा हेरिरहेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली मुख्य अतिथि र राजदूत बेरी विशेष अतिथिका रूपमा नेपाल सरकार, पर्यटन बोर्ड र अमेरिकी दूतावासको आयोजनामा काठमाडौंमा सोमबार आयोजित ‘इंगलिस ल्यांग्वेज एन्ड अपेरेसनल स्किल्स ट्रेनिङ फर टुरिज्म एन्ड इमिग्रेसन अफिसियल्स’ अंग्रेजी भाषा प्रशिक्षण शुभारम्भ कार्यक्रममा उनीहरू सँगै देखिएका हुन् । त्यस अवसरमा उनीहरूले सामूहिक फोटो पनि खिचाए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको र यसले नेपालमा आउने पर्यटकसँग सूचना आदानप्रदान गर्न तथा सत्कार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा पर्यटक भित्र्याउनका लागि अमेरिकी सरकारले ठूलो सहयोग गरेको भन्दै मन्त्री ज्ञवालीले अमेरिकाको प्रशंसा गरे ।

राजदूत बेरीले नेपालमा गतवर्ष अमेरिकाबाट ९० हजार पर्यटक आएका र यो संख्या वृद्धि गर्नका लागि अमेरिकाको सहयोग जारी रहने बताएका थिए । बेरीले नेपालमा आउने अमेरिकी पर्यटकको संख्या बढ्दै जानु दुवै देशका लागि राम्रो भएको र यसलाई सौहार्द तरिकाले सघाउने बताए ।

अमेरिका नेपालसँग रिसाए के–के हुन्सक्छ क्षति ?

अमेरिकाले अहिलेका सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्डसहित सरकारका मन्त्रीहरू र पार्टीका नेतालाई अमेरिका प्रवेशाज्ञा (भिसा)मा रोक लगाउन सक्छ । युद्धको राजनीति गर्दै शान्ति प्रक्रियामा आएको माओवादी एमालेमा मिसिएर नेकपा बने पनि आतंककारी सूचीमा राखिएका कतिपय नेताको नाम नहटाउने निर्णयमा अमेरिका पुग्नसक्ने कुटनीतिक जानकारहरू बताउँछन् ।

अमेरिकाको नेतृत्वमा नै नेपालको संक्रमणकालिन न्यायका सन्दर्भमा प्रश्न उठाइएको थियो । जसको जवाफ दिनका लागि प्रधानमन्त्री ओलीले कुटनीतिक प्रमूखहरूलाई आश्वस्त पार्ने प्रयत्न गरेका थिए । तर, त्यहाँ अमेरिकी राजदूत नजानु र विभिन्न मिडियाका सम्पादकसँग विचार राख्नुले अमेरिका रिसाइसकेको छनक देखाउने जानकारहरू बताउँछन् ।

कुटनीतिज्ञ आचार्य भन्छन्,‘भिसा नदिनु ठूलो हानि होइन । तर अमेरिकाले नेपाललाई ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अन्तर्गत सहयोग गर्ने उद्देश्यले ५० करोड अमेरिकी डलर सहायता जो छुट्ट्याएको छ त्यो हाललाई स्थगित गरिदियो भने त्यो चाहिँ गम्भीर कुरा हुन्छ ।’

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी र शक्तिशाली सदस्य मुलुक भएका कारण अमेरिकाले नेपाली सेनामा समेत हानि गर्न सक्ने कुटनीतिज्ञको दाबी छ । राष्ट्र संघले शान्ति सेनामा दिइरहेको योगदान घटाउने भन्न थाल्यो भने त्यो झन् गम्भीर विषय हुन् र त्यसलाई कसैले रोक्न नसक्ने संकेत पनि देखिएको विज्ञहरू बताउँछन् ।

अमेरिका विश्वको कुटनीतिमा एक्लै नहिँड्ने भएकाले उसका सिफारिसमा विभिन्न दातृ र सहयोगी राष्ट्र तथा संगठनले पनि नेपालमा लगानी घटाउन सक्ने अवस्था रहेको बताइन्छ । उनी भन्छन्,‘अमेरिकाले चाह्यो भने अरू झन् धेरै गम्भीर कदम पनि चालिदिन सक्छ । अहिले त्यसको चर्चा गर्नुभन्दा नगर्नु नै उचित होला ।’

भेनेजुएलासँग कुटनीतिक सम्बन्ध कायम भए पनि आर्थिक सम्बन्ध कायम नभएका कारणले उक्त प्रकरणमा नेपाल सरकार र सत्तारुढ पार्टी बोल्नु नै गलत भएको टिप्पणी गरेका आचार्यले भनेका छन्,‘त्यो वक्तव्य वक्तव्य अनावश्यक, अपरिपक्व र नेपालको राष्ट्रिय हितलाई हानि गर्ने खालको थियो, अरुले पनि भनेका छन् । यसलाई यथार्थवादी, आदर्शवादी र माक्र्सवादी दृष्टिकोणबाट हेर्न सकिन्छ ।’

चीन, भारतलगायतका ठूला मुलुकले भेनेजुएला प्रकरणमा आफ्ना हितका आधारमा रहेर बोलेका छन् । भारतले तेलका लागि हुन् कच्चा पदार्थ भेनेजुएलाबाट ल्याउने गर्छ भने चीनको पनि आफ्नै स्वार्थ छ । तर, नेपालको स्वार्थ अमेरिकासँग बढी रहेको विषयलाई हेक्का नराखी प्रचण्ड उल्टो बाटो हिँडेको बताइन्छ । अमेरिकामा धेरै भन्दा धेरै नेपाली बस्नेमात्र गरेका छैनन्, भुटानी शरणार्थी राखिरहेको नेपालबाट एक लाखलाई अमेरिका स्थानान्तरण गरेर उसले सहयोग गरेको पनि नेपालले विर्सिएको बताइन्छ ।

कुटनीतिक सम्बन्धमा खटपट

कुटनीतिक सम्बन्ध स्थापित भएको ७१ बर्षमा पहिलो पटक नराम्रोसँग नेपाल–अमेरिका सम्बन्धमा खटपट आएको छ । नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध सन् १९४७ अप्रिल २५ तारिखका दिन स्थापना भएको थियो ।

कुटनीतिक सम्बन्ध स्थापना भएदेखि अमेरिकाले औलो उन्मूलनदेखि स्वास्थ्य, शिक्षा, जनसंख््या, वातावरण, प्रजातन्त्र, मानवाधिकार, प्राकृतिक प्रकोपसम्म अनेक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

सुरुदेखि आजसम्म नेपाललाई अमेरिकी सहयोग क्रमिक रूपमा वृद्धि भइरहेको छ । कुनै वर्ष पनि त्यो घटेको छैन, बढिरहेकै थियो । तर, भेनेजुएलासँग नेपालको कुनै पनि प्रकारको कारोबार छैन । हाल आएर त अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत ‘नेपाल कम्प्याक्ट’ कार्यक्रम चलाएको छ । यसले नेपालमा आर्थिक वृद्धि, निजी क्षेत्रमा लगानी र रोजगारीका अवसर सिर्जना गर्न सहयोग हुन् आशा गरिएको छ ।

नेपालले आफ्नो कुटनीति सञ्चालन गर्दा हाम्रा दुई छिमेकी चीन र भारतले के गरिरहेका छन् भनी अध्ययन पनि गरिरहनुपर्ने बताइन्छ । एसीयामा नेपाललाई अमेरिकाले अझ बढी महत्व दिएको डोनल्ड ट्रम्प आएपछि होइन । बाराक ओबामाको पालादेखि नै यस्तो महत्व रहेको बताइन्छ । ओबामा प्रशासन कालकै ‘एसीयातिर केन्द्रित’ (पिभट टु एशिया) र ‘नयाँ सन्तुलन’ (रिब्यालेन्स)को निरन्तरता का रूपमा इन्डो एसीया प्यासिफिक कार्यक्रम आएको हो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलाको राजनीतिक विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा कुनै दुविधा नभएको जनाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले विदेश नीतिमा नेकपाको कुनै दुविधा, अन्योल नभएको जनाउँदै अध्यक्षको विज्ञप्तिलाई सदर गरेको हो । महासचिव विष्णु पौडेलले जारी गरेको निर्णयको जानकारी सम्बन्धी विज्ञप्तिको भाषा भने शिष्ट भाषामा भनिएको छ,‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको पञ्चशीलको सिद्धान्तको मान्यतामा छौं, कुनै पनि मुलुकको सार्वभौमसत्ता त्यहि मुलुकका जनताको निर्णयका आधारमा हुनुपर्छ ।’

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  २ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।