म्याग्दी। दसैँको टीकापछि म्याग्दीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्न थालेको छ।
अनुकूल मौसम र बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएसँगै घोडेपानी, पुनहिल, गलेश्वर, रुप्से झरना तथा तातोपानी कुण्डमा पर्यटकको चहलपहल बढेको हो।
कालीगण्डकीको बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलेपछि मुस्ताङ जाने आन्तरिक पर्यटकको संख्या बढेको स्थानीय व्यवसायीले बताएका छन्। दसैँ–तिहारको बिदामा पदयात्रा र भ्रमणका लागि आउने पर्यटक बढ्ने उनीहरूको अपेक्षा छ।
अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पनि पर्यटकको आगमन सुरु भएको छ। भुरुङ्ग–तातोपानीका व्यवसायी काजी थापाका अनुसार बिहीबार मात्रै करिब एक सय ५० आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरतर्फ गएका थिए।
बाढीले क्षति पुर्याएको सिंगा तातोपानी कुण्ड मर्मतपछि सञ्चालनमा आएको छ। घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्गसमेत सुरक्षित रहेको व्यवसायीले बताएका छन्।
पर्यटकीय याम सुरु भएसँगै बेनी–जोमसोम सडकलाई सहज बनाउने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। क्षतिग्रस्त सडक र पदमार्गको पुनर्निर्माणलाई तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसाय पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया