भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ति हतारमा आएको र चिप्लिएको बताएका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले काउन्टर जवाफ दिएका छन् ।चितवनमा सञ्चारकर्मीसँग विहीबार उनले ‘सचिवालयले बोलिसकेका कारण व्यक्तिले के भन्यो भन्ने कुराको अर्थ छैन’ बताए ।
उनले अगाडी थपे,‘प्रधानमन्त्रीसहितको सचिवालय बैठकले मेरो विज्ञप्तिको स्पिरिटमा नै निर्णय गरेको छ, परराष्ट्र मन्त्रालयले पनि सोही स्पिरिटमा जारी गरेको छ । जे भनिएको थियो । त्यहि हो ।’
भेनेजुएलाको राजनीतिक विषयमा प्रचण्डले अमेरिकाविरुद्ध रुस र चीनको पक्षमा रहनेगरी विज्ञप्ति जारी गरेका थिए । जसका कारण अमेरिका रुष्ट रहेको बताइएको थियो ।प्रचण्डले अघि थपे,‘मलाई फसाइयो भन्ने हिसाबले पनि मिडियामा समाचार आएपछि सचिवालयले स्पष्ट पारेको थियो । त्यो त्यहि नै हो ।’
अमेरिकी राजदूत रेन्डी बेरीसँग मंगलबार आधा घन्टा वार्ता भएपछि बुधबार साँझ जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रममा उनले प्रचण्डको विज्ञप्ति हतारमा आएको र शव्दावली स्लिप भएको बताएका थिए ।
प्रतिक्रिया