काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै भोलिदेखि देशभरका म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।
संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ। यसअघि आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत संघले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो।
संघका अनुसार भोलिदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका शाखा कार्यालय बन्द हुनेछन्। त्यस्तै, वैदेशिक रोजगारीका लागि नयाँ विज्ञापन प्रकाशन, अन्तर्वार्ता तथा सम्पूर्ण रिक्रुटिङ प्रक्रिया पनि रोकिनेछ।
पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबारसमेत बन्द गर्ने संघले जनाएको छ।
संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिसँग सम्बन्धित नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख छ।
सरकारले आफ्ना माग सम्बोधन नगरेपछि आन्दोलनलाई थप कडा बनाउनु परेको संघको भनाइ छ।















प्रतिक्रिया