Logo

प्रमुख समाचार

प्रदेश २ को लेखा समिति अध्यक्षमा विवाद : नेकपाका सांसदद्वारा सभामुखमाथि दुर्व्यवहार



प्रदेश २ को संसदीय समिति अन्तर्गत लेखा समितीको अध्यक्ष मनोनयनको विवादले उग्र रुप लिएको छ । ७ वटा संसदीय समितिमध्ये ६ वटा समितीहरुमा सर्वसम्मतीले अध्यक्ष चुनिएपनि नेकपा भित्रकै आन्तरिक किचलोका कारण लेखा समितीमा विवाद भएको हो । बिहीवार विहान १० बजेदेखि साँझ ५ बजेसम्म समितिको अध्यक्षमा मनोनय दर्ता गर्ने समय तोकिएको थियो । मनोनयन दर्तापछि लेखा समितिका अध्यक्ष छात्र विवाद देखिएपनि अन्य ६ समितिका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपाका रामचन्द्र मण्डल, प्रदेश मामिला समितिमा फोरमका अशोक यादव, विकास समितिमा फोरमकै शेख अबुल कलाम, कृषि तथा भूमि व्यवस्थापन समितिमा कांग्रेसका बीरेन्द्र सिंह र महिला बालबालिका तथा समाजिक न्याय समितिमे जयनुल राईन निर्विरोध निर्वाचित भएका छन् । तर नेकपा केन्द्रीय कमिटीले सार्वजनिक लेखा समितिको अध्यक्षमा भरत साहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि नेकपाबाटै अन्तिम समयमा शत्रुध्न महताले उम्मेदवारी दर्ता गराएपछि विवाद झन उग्र रुप लिएको हो ।

समितिका सभापतिमा मनोनयन दर्ताका लागि समितिकै सदस्यहरु मध्ये एकजना प्रस्तावक र एकजना समर्थक चाहिन्छ । सार्वजनिक लेखा समतिमा नेकपाका उम्मेदवार साहसहित चारजना सांसद सदस्य छन् । तर समितिमा नेकपाका सांसद महतो र रामकुमार यादव अनुपस्थित थिए । दुईजना सांसद अनुपस्थित भएपछि नेकपाले लेखा समितिका अध्यक्षका उम्मेदवार बनाएका साहका प्रस्तावक नेकपा सांसद लगनलाल चौधरी बनेका थिए । यद्यपी मनोनयन दर्ताको समय सकिन आधा घण्टामात्र बाँकी छँदा नेकपा सांसद लगनलाल चौधरीलाई प्रस्तावक र नेकपाकै सांसद रामकुमार यादवलाई समर्थक बनाउँदै अध्यक्ष पदका उम्मेदवार साहले उपसचिव शान्तिराज प्रसाईंसमक्ष मनोनयन दर्ता गराए ।

उपसचिव प्रसाईंले समर्थक बनेका यादव अनुपस्थित रहेको प्रश्न गर्दा अध्यक्ष पदका उम्मेदवार साहले उनी हस्ताक्षर गरेर गइसकेको जबाब फर्काएका थिए ।

नेकपा सदस्य साहले प्रस्तावक पाएपनि समर्थक पाइरहेका थिएनन् । समितिमा सदस्य रहेका नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राजपाले समेत समर्थक बत्र असहयोग ग¥यो । पछि मनोनयन दर्ताको करिब १० मिनेट समय मात्र छँदा महतोको अनुपस्थितीमा नेपाली काँग्रेसका सांसद नरेश यादवले उनको मनोनयन पत्र दर्ता गराउन संसद सचिवालय पुगेका थिए । तर भरत साहले उपसचिव प्रसाईँकै अगाडी उनको मनोनयपत्र नै च्यातेका थिए ।

महतो अनुपस्थित हुँदाहुँदै उनको मनोनयनपत्र किन दर्ता गरेको भनी नेकपा सांसद साहले प्रश्न गर्दै उनको मनोनय पत्र दर्ता गर्नबाट अवरोध गर्न खोजेका थिए । पछि विवाद उग्र रुप लिएपछि सभामुख सरोज यादवसँग नेकपा सांसदहरु छलफलका लागि पुगेका थिए । छलफलकै क्रममा सभामुखको कार्यकक्षभित्र सभामुखमाथि हातपात हुने स्थिती सिर्जना भएको थियो । पार्टी भित्र साहलाई अध्यक्ष बनाउने निर्णय भइसकेपनि सभामुख यादवले राजनीतिकरण गर्न खोजेको भन्दै भरत साह पक्षधर नेकपा सांसदहरु आक्रोसित हुँदै सभामुख यादवलाई दुव्र्यवहार गरेका थिए ।

छलफलका लागि पुगेका नेकपाका सांसदहरुले सभामुखको कार्यकक्षभित्रै दुव्र्यवहार गरेको सभामुख यादवले समेत स्वीकार गरेका छन् । तर उनीहरु कुरै नबुझेर आवेसमा आएर होहल्ला गरेकाले सभामुख यादवले आफुले उनीहरुलाई क्षमा गरेको बताए । प्रदेश सरकारसँग सहमति भएपनि कुनै सांसदलाई मनोनयन दर्ता गर्नबाट रोक्ने अधिकार आफूसँग नरहेको संचारकमीहरुसँगको कुराकानीमा उनले बताए । नेकपाकै अर्का सांसदले मनोनयन दर्ता गराएको भन्दै आफ्नो पार्टीभित्रको विवाद उनीहरु आफैले मिलाउनुपर्ने उल्लेख गरे ।

यता नेकपा संसदीय दलका नेता सत्यनरायण मण्डलले सभामुख यादवलाई नालायाकको संज्ञा दिएका छन् । उनले काँग्रेस राजपा र फोरम मिलेर षडयन्त्रपुर्वक लेखा समितिको अध्यक्ष बत्रबाट साहलाइ रोक्न खोजेको आरोप लगाए । नेपाल कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले नेकपाबाट समितिका अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका शुत्रध्न महतोतर्फ इंगित गर्दै भने,‘सहयोग मागेपछि आफूहरुले सहयोगमात्र गरेका हौं ।’

सार्वजनिक लेखा समितिका अध्यक्ष पदका लागि दुइजनाको उम्मेदवारी दर्ता भएपछि शुक्रबार बिहान चुनाव हुने भएको छ । संसद सचिवालयले बिहान १० बजे निर्वाचनको समय तय गरेको उपसचिव प्रसाईंले जनाएका छन् । चुनाव भएको अवस्थामा शत्रुध्न महतो अध्यक्ष पदमा निर्वाचित हुने करिब करिब पक्का देखिएको छ ।

समितिमा १३ जना सदस्य रहेका छन् । जसमध्ये नेकपाको ४, कांग्रेसको ३, राजपा ३ र संघीय समाजवादी फोरमका ३ जना सदस्य छन् । कांग्रेस, राजपा र फोरम एकतर्फ देखिएकाले महतो अध्यक्षमा निर्वाचित हुने करिब करिब पक्का भएको हो ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ९ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।