Logo

प्रमुख समाचार

‘असफल सरकारलाई मानिरहनुपर्ने कस्तो बिडम्बना ?’



नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले यो सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त भन्दापनि गर्न नहुने काम के–के गर्यो भन्ने फेहरिस्त आफूहरुसँग रहेको सुनाए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो सरकारले महँगी बढाउने काम गर्यो । यही सरकारको पालामा तस्करी उजागर भयो । साँढे ३३ केजी सुन गिरफ्तार भयो, तर त्यो सुन कहाँ छ भन्ने कुरा अहिलेसम्म थाहा छैन् । अहिलेसम्म यसबारेमा जनतालाई कुनै सुचना छैन् ।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणमात्रै नभएर माफीयाकरण भएको उनले आरोप लगाए । उनले भने,‘पूरै माफियाकरण भएको छ । जनतासँग प्रत्यक्ष जोडिएको विषयमा यस्तो हालत छ ।’

त्यस्तै उनले मुलुकको शान्ति, सुरक्षाको अवस्था पनि चिन्ताजनक रहेको सुनाए । गजुरेलले भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन भयो । त्यसपछि पनि कयौं घट्ना भए, तर यो सरकारले जिम्मेवारी लिँदैन् । गृहमन्त्री र प्रधानमन्त्रीको अभिव्यक्ति तपाई हामिले सुनिहालेकै छौं । उहाँहरु अनुशन्धान भैरहेको छ, १२ वर्षसम्म पनि लाग्न सक्छ भन्नुहुन्छ।’

भ्रष्टाचार संस्थागत भएछ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले नै बालिसकेको सुनाउँदै उनले भने,‘अब भ्रष्टाचार संस्थागत भएको छ । ओलीजीले देशवासीको नाममा सम्बोधन गर्दा यो एक वर्ष तयारी गर्दैमा बित्यो भन्नुहोला भनेको त उहाँले एक वर्षमै अनुपम काम भयो भन्नुभयो । विकासको जग हाल्यौं भन्नुभयो ।’

उनले यो एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? भन्दै प्रश्न समेत तेर्र्साए । उनले भने,‘अहिलेकै अवस्था चार गुणा बढ्यो भने नेपालको अस्तित्व रहला कि नरहला ? मलाई लाग्छ नेपालको अस्तित्व रहँदैन् ।’

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई हटाएर मात्रै देशको समस्या समाधान नहुने जिकिर गरे । उनले भने,‘यो सरकारलाई कांग्रेसबाहेक सबैको समर्थन छ, उहाँलाई कसैले हटाउन नसक्ने भन्नेमा ढुक्क छ ।’

गजुरेलले अपमानित हुनेगरि पत्रकारले छापे भने १५ लाख जरिवाना र ५ वर्षको कैद गर्ने सरकारले व्यवस्था गर्न लागेको भन्दै आलोचना गरे । उनले भने,‘संसदमा दुई तिहाई छ, जे गरेपनि भैगयो नि । पञ्चायतकालिन पत्रकारकोजस्तो अवस्था भएको छ । कार्टुन बनाउने पत्रकारलाई पनि जेलमा हालिएको छ। भ्रष्टाचार गरेको मान्छेलाई पनि सोधेरमात्रै समाचार छाप्नुपर्ने अवस्था आयो ।’

उनले मुख्य समस्या राज्य व्यवस्थामा र संविधानमा रहेको पनि औंल्याए । उनले भने,‘त्यसैले यो व्यवस्था र संविधानलाई नै बदल्नुपर्छ । यो संभव छ । परिवर्तन सडकबाट मात्रै हुन्छ । जनता सडकमा आउनुपर्छ । सरकार असफल भएको छ तर यही सरकारलाई मानिरहनुपर्ने कस्तो बिडम्बना ?’

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ३ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।