काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी दुई सातापछि अमेरिकाको न्यूयोर्क जाने भएका छन्।
प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। तर भ्रमणको तयारी अघि बढाउन प्रधानमन्त्री कार्यालयले मन्त्रालयलाई निर्देशन दिएको बताइएको छ।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउने निर्णय गरेको थियो। प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने भएपछि खनाल पनि उनको साथमा न्यूयोर्क जाने तयारीमा छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको मानवीय र भौतिक क्षतिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले प्रधानमन्त्री शाह महासभामा सहभागी हुन लागेको बताइएको छ।
नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्को सामना गरिरहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूले दिँदै आएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने समय आएको बताएका थिए।
प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गते न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु हुँदैछ। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरु हुने कार्यक्रम छ।
















प्रतिक्रिया