काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पाठकले आइतबार प्रेस विज्ञप्ति निकालेर पार्टी सदस्यसमेत नरहने अलग रहेको जानकारी गराएका हुन् ।
राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिबाट करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारी सम्हालेको उनले बताएका छन् ।
राप्रपासँगको एकताको आधार अनुसार यो अवधिमा ठोस कार्य हुन नसकेको हुँदा पार्टी छोडेको घोषणा गरेका छन् । पाठक राप्रपाका पूर्व नेता रवीन्द्र मिश्रसँगै राप्रपामा जोडिएका थिए ।
उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ । पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो छ । जसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति छ ।’
राप्रपामा केन्द्रमा दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो रहेको पाठकले टिप्पणी गरेका छन् ।
















प्रतिक्रिया